पोखरामा रगतको अभाव, एभरेस्ट एफएमले बुधवार आकस्मिक रक्तदान गर्दै

जनसम्मत
कार्तिक १३, २०७९, आइतबार

एभरेस्ट एफ एम ९३ मेगाहर्जले आगामी बुधबार आकस्मिक रक्तदान गर्ने भएको छ।

विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पूरा गर्न क्षेत्रप्य रक्तसंचार केन्द्रको अनुरोधमा कार्यक्रमको आयोजना गर्न लागिएको एफएमले जनाएको छ।

‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

उनले रगतको अभावमा आहत मनहरुलाई राहत प्रदान गर्न रक्तदानमार्फत पुण्य कार्यमा सहभागी हुन आग्रह गरेका छन्। क्षेत्रीय रक्तसन्चार केन्द्रको सहकार्यमा रक्तदान कार्यक्रम पोखरा– ५, प्रस्याङस्थित एफएमको प्रांगणमा बुधबार विहान ७ बजेदेखि संचालन हुनेछ।

यसअघि, एफएमले गत वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदानमा १८६ युनिट रगत संकलन भएको थियो। जसमा ४५ जनाले पहिलो पटक रक्तदान गरेका थिए।

रक्तदानमा १७ देखी ६० वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका कुनैपनि दीर्घरोगको औषधी सेवन नगरेका संक्रामक रोग नलागेका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्नेछन्।

रक्तदान गर्नाले शरीरमा नयाँ रक्तकोष उत्पादन भई स्वास्थ्य प्राप्ति हुने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरी कम भई शरीरको तौल घटाउन सघाउनेलगायतका फाइदा हुने विज्ञहरुको भनाई छ।

यसका साथै रगतको विकल्प रगत मात्र भएकाले संकटमा परेकाहरुको जीवन बचाई खुशी दिलाउने र सामाजिक दायित्व निर्वाह गराई आत्म सन्तुष्टि प्रदान गर्नपनि रक्तदानको महत्व छ।