विश्व फुटबलर ओजिल मेसुटको सगरमाथा आधार शिविरमा चर्चा

हस्ताक्षरसहित ओजिलले पठाएको १० नं जर्सी लिएर काठमाण्डौंका निरोज खतिवडा सगरमाथा आधार शिविरमा

एजेन्सी
जेठ २, २०७६, बिहीवार

पोखरा । वसन्त ऋतुको उत्तरार्धमा यतिबेला आरोहीहरू विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रयास गर्दैछन् ।

पूरा विश्व त्यहाँ बन्ने कीर्तिमानको प्रतीक्षामा छ । सगरमाथा क्षेत्रमा कोही शिखर आरोहण गर्न भेला भएका छन् भने कोही पदयात्रा मात्रै गरेर भए पनि चित्त बुझाउँछन् ।

यसै क्रममा चर्चित विश्व फुटबलर मेसुट ओजिलको जर्सीसमेत सगरमाथको आधार शिविरमा प्रदर्शन गरिएको छ । इङ्लिश फुटबल क्लब आर्सनलका एक नेपाली प्रशंसक पनि सगरमाथा आधार शिविर पुगेका छन् ।

उनी त्यहाँ पुगेको सूचना आर्सनलका विश्वचर्चित जर्मन खेलाडी मेसुट ओजिलले सामाजिक सञ्जालमार्फत दिएका हुन् । आक्रामक मिडफिल्डर ओजिलले आफ्नो हस्ताक्षरसहित पठाएको जर्सी लिएर काठमाण्डौंका निरोज खतिवडा सगरमाथा आधार शिविर गएका हुन् ।

ओजिलले सोमवार ट्विटरमा उनले लगाउने १० नम्बर भएको जर्सी बोकेका खतिवडाको र आर्सनलका नेपाली प्रशंसकहरूको सामूहिक तस्बिर पोस्ट गरेका थिए । ओजिलले लेखेका छन, ‘हेर्नूस मैले हस्ताक्षर गरेर नेपालको आर्सनल फ्यान क्लबलाई टीसर्ट पठाएपछि के भयो ? एक जनाले त्यसलाई सगरमाथा आधार शिविरसम्मै पु¥याए ।’

ओजिलले ती तस्वीर पोस्ट गरिदिएपछि २८ वर्षीय खतिवडा आश्चर्य चकित भए । निरोजलेले ट्विटरमै ओजिललाई धन्यवाद दिँदै आफूले त्यसलाई शब्दमा व्याख्या गर्न नसकिरहेको लेखेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा स्नातकोत्तर गर्दै गरेका खतिवडा आफू विगत १० वर्षदेखि ओजिलको फ्यान र १५ वर्षदेखि आर्सनलको समर्थक रहेको बताउँछन् । उनी आर्सनल फ्यान क्लबका उपाध्यक्ष समेत हुन् ।

निरोज वैशाख १७ गते आधार शिविर पुगेका थिए । ओजिलले गरेको ट्वीट २३ सय भन्दा बढी रिट्वीट भएको छ । त्यसले १८ हजार भन्दा बढी लाइक पाएको छ ।

बाइस वर्षको उमेरमै पहिलो पटक विश्वकप खेल्दा ओजिललाई विश्वले सन २०१० मा चिनेको थियो । सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा उनको योगदान महत्त्वपूर्ण मानिएको थियो ।

जर्मन खेलाडी ओजिलले अहिलेसम्म पाँच पटकसम्म ‘जर्मन प्लेयर अफ दि इयर’को उपाधि समेत पारि सकेका छन् । उनी सन् २०१३ देखि आर्सनलबाट क्लब खेल्न थालेका हुन् । त्यसअघि, उनी स्पेनको रियाल मड्रिडबाट फुटबल खेल्थे ।