पीएम कप: एपीएफको विजयी सुरुवात

जनसम्मत
कार्तिक १३, २०७९, आइतबार

विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ।

त्रिवि मैदान कीर्तिपुरमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हरायो।

एपीएफले दिएको २२० रनको विजय लक्ष्य पछ्याएको आर्मी ३२.१ ओभरमा सबै विकेटको क्षतिमा १६३ रनमा समेटिएको थियो।

आर्मीका लागि हरि चौहानले ६५ र रोहित पौडेलले ५१ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा एपीएफका अमर रौटेलाले ४ विकेट लिए। कमल ऐरीले ३ तथा किशोर महतोले २ विकेट झारे।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७.४ ओभरमा सबै विकेटको क्षतिमा २१९ रन बनाएको थियो।

एपीएफका लागि प्रदिप ऐरीले ७१ र सन्दीप जोराले ५० रन बनाए। भुवन कार्कीले २६, कप्तान शरद भेषवाकरले १६ र अमर रौटेलाले अविजित १० रन बनाए। बलिङमा आर्मीका विक्रम सोबले ४ विकेट लिए।

साहब आलम र कुशल मल्लले २/२ विकेट लिए। जितसँगै समूह ‘ए’ मा रहेको एपीएफले २ अंक बनाएको छ। आर्मीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। कर्तिक २६ गतेसम्म संचालन हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता छ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख रुपियाँ पुरस्कार प्रदान गरिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

यस्तै, सेमिफाइनलमा पुग्ने २ टोलीलई ५० हजार, सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई २० हजार रुपियाँ प्रदान गरिनेछ। इमर्जिङ प्लेयरलाई १० हजार र हरेक खेलको ‘म्यान अफ दि म्याच’ लाई ५ हजार रुपियाँ प्रदान गरिने भएको छ।

क्यानका अनुसार १ करोड ५० लाख रुपियाँ लगानी रहेको प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६० लाख रुपियाँ उपलब्ध गराउनेछ।

प्रतियोगिताको राखेपका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरे।