पोखरामा पनि छठ पर्वको समापन

पोखरा महानगरका प्रमुख धनराज आचार्य आफैले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर यहाँ आयोजित छठ पर्वको कार्यक्रममा सहभागी बने

जनसम्मत
कार्तिक १४, २०७९, सोमबार

आज कार्तिक सप्तमी तिथी।

अर्थात, छठ पर्वको अन्तिम दिन।

पोखरामा पनि उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिएको छ। पोखरामा पनि छठ पूजालाई व्यवस्था गरिएको थियो। केदारेश्वर महादेवमणि मन्दिर नजिकैको फेवाताल किनार, पोखराको नदीपुरस्थित नारायणस्थानको सेतीनदी घाट, पोखराकै कालीखोला किनार र भद्रकाली मन्दिर नजिकैको माछा पोखरीमा छठ पूजा र स्नान गर्ने भक्तजनलाई व्यवस्थित गरिएको थियो।

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ समापन भएको हो। ४ दिनसम्म मनाइएको यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो।

पोखरामा पनि आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुले व्रत तोडेका छन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो। यस वर्षको छठ पोखराका चार स्थानमा मनाइएको छ। पोखराको नारायण स्थान, केदारेश्वर, काली खोला र माछा पोखरीमा छठ पर्व मनाइएको हो।

आगामी वर्षदेखि यसलाई उत्सवका रूपमा मनाउने तयारी गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तराईमा मात्र होइन पर्यटकीय नगरी पोखरामा पनि छठ पर्व उत्सवका रूपमा मनाइन्छ भन्ने सन्देश दिनुपर्नेमा जोड दिए। सोही अनुरूप आगामी वर्षदेखि यसलाई थप व्यवस्थित गरिने आचार्यको प्रतिबद्धता छ।

छठ पूजा लगाइएका ४ वटै स्थानको स्थलगत अवलोकनसहित पूजामा समेत सहभागी भएका प्रमुख आचार्यले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए भने, सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठ पर्वको समापन गरेका थिए।

कार्तिक चतुर्थीदेखि सुरु भइ षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा–अर्चना गरी यो पर्वको समापन गर्ने परम्परा छ।

अर्घ्यमा ठेकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने प्रचलन छ।

महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा सो गुप्त बास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको मानिन्छ।

काठमाडौंको कमलपोखरी, थापाथली, कुपण्डोल, गुह्वेश्वरी, गौरीघाट, नख्खुलगायतका स्थानमा व्रतालुहरुले निर्माण गरिएको छठ घाटमा आइतवार जागा भइ सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ।

आजै जनकपुरधाम, वीरगञ्जलगायत तराईका विभिन्न स्थानमा उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको समापन गरिएको छ। व्रतालुले नदी, तलाउ तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवानले सूर्य नारायणलाई अर्घ्य दिने गर्दछन्।