रामकली खड्कालाई सिद्धि गौचन स्मृति पुरस्कार प्रदान

जनसम्मत
कार्तिक १२, २०७९, शनिबार

महिला उद्यमी रामकली खड्का सिद्धि गौचन स्मृति पुरस्कार–२०७९ बाट सम्मानीत भएकी छिन्।

जरो टुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित खड्कालाई उक्त पुरस्कार प्रदान गरिएको हो।

पुरस्कार सिद्धि गौचनको १२ औं स्मृति दिवस पारेर आज (शनिबार) पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा आयोजित एक कार्यक्रमका बीच अर्पण गरिएको हो। पुरस्कारको राशी नगद १० हजार १ सय ११ नगद र ताम्रपत्र, दोसल्ला रहेको छ।

ज्योति भट्टचनको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले महिला उद्यमी खड्काको नाम चयन गरेको हो। शिक्षासेवी मिना गुरुङ, पुरस्कारका संस्थापक विश्वमोहन गौचन, संस्थाका अध्यक्ष तथा महासचिव पदेन सदस्य रहेको समितिको सिफारिसलाई संस्थाको बैठकले सर्वसम्मत स्वीकृत गरेको थियो।

२०१२ सालमा हुम्लामा जन्मेर २०३२ सालदेखि महिला सीप विकास संस्थाको नेतृत्व गर्दै आएकी खड्काले १७ हजार बढी दिदीबहिनीलाई सीपमुलक तालिम प्रदान गरेर स्वरोजगार बनाइसकेकी छिन्।
अमेरिका, श्रीलंका, बंगलादेश, बेल्जियम, कोरिया, ब्राजिल, जापान, इटाली, पेरु, भारतलगायत २ दर्जन बढी देशमा सम्पन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाइसकेकी खड्काको हस्तकला संगठनमा ४० वर्ष बढीको अनुभव छ।

दर्जनौं संघसंस्थाबाट उत्कृष्ट महिला उद्यमी, महिला शसक्तिकरण पुरस्कारबाट विभुषित खड्काको नेतृत्वमा सिमलचौर, पोखरा–८ मा सञ्चालित महिला सीप विकास तालिम केन्द्रमा हाल ७ सय बढी दिदीबहिनी स्वरोजगार छन्।

महिला सशक्तिकरणका घरेलु उद्योग, सिलाइबुनाइ, कृषि, शिक्षा, स्वास्थ्य, समाजसेवा, कला, साहित्य, संगीतलगायतका विविध क्षेत्रमा जीवन समर्पण गरेकी सिद्धि गौचनको योगदानलाई चीरस्मरणीय बनाउन स्थापना भएको पुरस्कार जरो टुप्पोबाट पहिलो पटक अर्पण गरिएको हो।