दोश्रो संस्करणको गणेशमान सिंह टेनिस प्रतियोगिता कार्तिक १९ गतेबाट

जनसम्मत
कार्तिक १४, २०७९, सोमबार

नेपाली राजनीतिका युग पुरुष प्रजातान्त्रीक योद्धा वीर गणेशमान सिंहको संस्मरणमा आयोजना हुने दोश्रो संस्करणको टेनिस प्रतियोगिता यही कार्तिक १९ गतेबाट हुने भएको छ।

वीर गणेशमान सिंह प्रतियोगिता अन्तरगत टेनिस र १० के रोड रेस हुने कार्यक्रम रहेको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ।

ललितपुर सातदोवाटोस्थित टेनिस कोर्टमा २६ गतेसम्म हुने टेनिस प्रतियोगितामा सिनियर महिला तथा पुरुष र जुनियर छात्रछात्रातर्फ विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुने प्रेस बिज्ञप्तीमा जनाइएको छ।

वीर गणेशमान सिंह स्पोर्टस् कमिटिको आयोजनमा हुने प्रतियोगितामा सिनियरतर्फ पुरुष तथा महिला एकल तथा युगल, पुरुष ३५ बर्षमाथि एकल तथा युगल, ४५ बर्षमाथि एकल तथा युगल, ५५ बर्षमाथि एकल तथा युगल र ६५ बर्षमाथिको एकल रहेको छ।

यस्तै जुनियरतर्फ यु ८ छात्रछात्रा एकल, यु ९ छात्रछात्रा एकल, यु १० छात्रछात्रा एकल, यु १२ छात्रछात्रा एकल, यु १४ छात्रछात्रा एकल र खुल्ला छात्रछात्रा युगलमा प्रतिस्पर्धा हुनेछ।

पहिलो संस्करणको टेनिस प्रतियोगितामा पुरुषतर्फ आरभ सम्राट हाडा र महिलातर्फ सलोनी तामाङ विजयी भएका थिए। पुरुष युगलतर्फ प्रदीप खड्का र अनिल शाहीको जोडीले उपाधी उचालेको थियो। ३५ बर्षमाथिको पुरुष युगलतर्फ कमलबहादुर भण्डारी र सिमान्त गुरुङको जोडी, ४५ बर्षमाथिको पुरुष एकलमा विमलकुमार गुरुङ, युगलतर्फ चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडी विजयी भएका थिए। ५५ बर्षमाथि कमल थापा र छम्ब धोन्दुपको जोडी विजयी भएका थिए।

३२ लाख लागतको अनुमान गरिएको प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फका विजयी शीर्ष ३ स्थानका खेलाडीहरुले ८० हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछन्। यस्तै, पुरुष तथा महिला युगल र पुरुष ३५ बर्षमाथिका शीर्ष ३ विजयी खेलाडीहरुले ४० हजार, २० हजार र १० हजार प्राप्त गर्नेछन्। ३५ बर्षमाथिको युगलमा शीर्ष ३ विजेताले २५ हजार, १५ हजार ५ हजार, ४५ बर्षमाथि एकलका शीर्ष ३ विजेताले ३० हजार, १५ हजार र ५ हजार, ४५ बर्षमाथिको युगल र ५५ बर्षमाथिको एकलतर्फ २० हजार, १० हजार र ५ हजार, ५५ बर्षमथिको युगलतर्फका खेलाडीहरुले १५ हजार, ८ हजार र ६५ बर्षमाथिको एकलका खेलाडीहरुले १५ हजार, ७ हजार ५ सय र ५ हजार प्राप्त गर्ने बिज्ञप्तीमा जनाइएको छ।

नगदका साथै विजयी खेलाडीहरुले पदक, प्रमाण पत्र र ट्रफी समेत प्राप्त गर्नेछन्।
टेनिस प्रतियोगिताको संयोजकमा गणेशमान सिंह फाउण्डेशनका बोर्ड सदस्य भाष्करमान सिंह र प्राविधिक संयोजकमा टेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्य छन्।

पौष २३ गते हुने १० के रोड रेसको अन्य बिस्तृत जानकारी पछि जानकारी गराइने रेसका संयोजक राजन खत्रीले पत्रकार सम्मेलनमा जानकारी गराएका छन्।