पीएम कप: गण्डकीले सुदूरपश्चिमलाई हरायो

जनसम्मत
कार्तिक १४, २०७९, सोमबार

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६९ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकीले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३२.४ ओभरमा सबै विकेट गुमाउनुअघि १३९ रनमात्र जोड्न सक्यो।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न विपिन कार्कीले ४ विकेट लिए। अभिषेक बस्नेत र सुवास भन्डारीले समान २/२ विकेट लिँदा अमृत गुरुङले १ विकेट लिए।

सुदूरपश्चिमका मिलन बोहराले ५१ रन बनाए। गजेन्द्र बोहराले ३५ र वसन्त कार्कीले १० रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०८ रनको योगफल तयार पारेको थियो।

गण्डकीका ओपनर अर्जुन कुमालले ६३ रन बनाएका थिए। समिर कँडेलले २६ रन बनाउँदा विधान श्रेष्ठ र अभिषेक बस्नेतले समान २५ रन थपे। सन्दीप क्षत्रीले १९, कप्तान विपिन खत्रीले १३ र कमल परियारले १२ रन जोडे।

सुदूरपश्चिमका कैलाश ऐयर, नारायण जोशी, शेर मल्लले समान २/२ विकेट लिँदा नरेन साउदले १ विकेट लिए।

कार्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीयसहित १० टिमको सहभागिता छ।