प्रगतिशील साहित्यकार रविकिरण ‘निर्जीव’ लाई गण्डकी वाङ्मय पुरस्कार

जेठ ८ गते गोकुल जयन्तिका दिन ‘निर्जीव’लाई पुरस्कार प्रदान, पुरस्कार राशी १५ हजार रुपैयाँ

जनसम्मत
जेठ २, २०७६, बिहीवार

पोखरा । प्रगतिशील साहित्यकार रविकिरण ‘निर्जीव’लाई ०७५ सालको गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ ।

गण्डकी साहित्य सङ्गम, पोखराका अध्यक्ष डा कृष्णराज अधिकारीले उक्त कुराको जानकारी दिएका हुन् । डा अधिकारीका अनुसार जेठ ८ गते गोकुल जयन्तिका दिन ‘निर्जीव’लाई उक्त पुरस्कार प्रदान गरिनेछ । पुरस्कार राशी १५ हजार रुपैयाँ रहेको छ ।

संगमको हालै मात्र सम्पन बैठकले ‘निर्जीव’लाई उक्त पुरस्कार दिने निर्णय गरेको थियो । संगमका सदस्य कल्पना चिलुवालको संयोजकत्वमा रामराज रेग्मी र खुमलाल पौडेल सदस्य रहेको प्रतिभा छनौट समितिले यस पटकको उक्त पुरस्कार ‘निर्जीव’लाई प्रदान गर्ने सिफारिस गरेको थियो ।

२०४९ मा जनस्तरबाट स्थापना गरिएको गण्डकी साहित्य सङ्गमले ०५२ देखि राष्ट्रिय तहमा ३० हजार राशीको गोकुल वाङ््मय पुरस्कार र क्षेत्रीय तहमा १५ हजार राशीको गण्डकी वाङ्मय पुरस्कार एक÷एक वर्ष विराएर प्रदान गर्दै आएको छ ।

समाजवादी यथार्थवाद, सामन्तवाद–साम्राज्यवाद विरोधी प्रगतिशी तथा देशभक्त साहित्यिक धारमा साधना गर्ने स्रष्टालाई सङ्गमले गोकुल वाङ्मय र गण्डकी वाङ्मय पुरस्कार प्रदान गर्दै आएको डा अधिकारीले बताए ।

२००३ मा लमजुङको अलैचेमा जन्मिएका साहित्यकार ‘निर्जीव’का कविता, निवन्ध, आत्मकथा, उपन्यास, गीत–कविता र बालकाव्य संग्रह गरी दर्जन भन्दा बढि कृतिहरु प्रकाशित छन् ।

साहित्यकार ‘निर्जीव’को नव जीवनको फूलबारी (कविता संग्रह), अलैंचे (गीत कविता संग्रह), सोझा निर्जीवका बाङ्गा निवन्धहरु (निवन्ध संग्रह), भदौरे झरी (निवन्ध संग्रह), आमाको दूधको भारा (उपन्यास), कालो कर्णालीको सेतो छाया (उपन्यास), आत्मदान (आत्मकथा), रगत र पसिनाको बस्ती (खण्डकाव्य), ऐंजेरु लागेको पीपल (बाल काव्य) लगायतका कृतिहरु प्रकाशित छन् ।

जनसांस्कृतिक महासंघ चितवनका अध्यक्ष र साहित्य सङ्गम चितवनका सल्लाहकार समेत रहेका ‘निर्जीव’ले अस्वीकृत विचार साहित्य पुरस्कार र साहित्य सङ्गम पुरस्कार प्राप्त गरेका छन् ।

यसअघि, गण्डकी साहित्य पुरस्कारबाट भेषराज शर्मा, भवानीप्रसाद पाण्डे, दिल साहनी, कुलबहादुर केसी, नुमराज बराल, केदार शर्मा ढकाल, कुलप्रसाद खनाल, देवेन्द्र लम्साल, रविलाल अधिकारी, पोषराज पौडेल र गोपीरमण उपाध्याय पुरस्कृत भएका छन् ।

त्यस्तै, गण्डकी साहित्य सङ्गमद्धारा प्रदान गरिदै आएको गोकुल साहित्य पुरस्कारद्धारा यसअघि देवीप्रसाद किसान (केवलपुरे), खगेन्द्र संग्रौला, गोविन्द भट्ट, श्यामप्रसाद शर्मा, रमेश विकल, निनु चापागाई, मोहन वैद्य, (चैतन्य), आनन्ददेव भट्ट, घनश्याम ढकाल, मोदनाथ पश्रित, हरिहर खनाल र जीवन शर्मा पुरस्कृत भइसकेका छन् ।