प्रधानमन्त्री कप क्रिकेट: एपीएफको लगातार दोस्रो जित

जनसम्मत
कार्तिक १५, २०७९, मंगलवार

प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ।

आज (मंगलवार) मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एक दिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको हो।

सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा कुनैपनि विकेट नगुमाइकन भेट्टाउन सफल बन्यो। उसका लागि आशिफ शेखले ४२ र प्रदीप ऐरीले २५ रन जोडे।

यसअघि, पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि राजु रिजालले २४ रन बनाउनुबाहेक अरूले दोहोरो अंकमा रन जोड्न सकेनन्।

एपीएफका भुवन कार्कीले ४ विकेट लिए। कमल ऐरी र मौसम ढकालले २/२ विकेट लिए।

एपीएफ चार अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा छ भने सुदूरपश्चिम अंकविहीन हुँदै पुछारमा छ।