बेलबारी गोल्डकप फुटबल: सहाराले एपीएफसँग खेल्दै

जनसम्मत
कार्तिक १९, २०७९, शनिबार

सहारा क्लब पोखराले आज (शनिबार) जारी पाँचौ संस्करणको बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा विभागीय सशस्त्र प्रहरी बलको एपीएफ (काठमाण्डौं) सँग खेल्दैछ।

मोरङको बेलबारी–११, लक्ष्मीस्थित डाङ्गीहाट युथ क्लबले आयोजना गरेको प्रतियोगितामा सहाराको पहिलो सहभागिता हो। १० टिम सहभागी प्रतियोगितामा सहारा र एपीएफले सिधै वाइ पाएर क्वार्टरफाइनल खेल्ने भएको हो।

युवा खेलाडी सम्मिलित सहारा र पछिल्लो समय फुटबलमा उदाउँदै गरेको एपीएफबीचको खेला कडा प्रतिस्पर्धा हुने अनुमान लगाइएको छ। खेलमा जित निकाल्न दुबै टिम प्रयासरत रहनेछन्।

पूर्व राष्ट्रिय खेलाडी, राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट समावेश खेलाडी र सहारा एकेडेमीका युवा खेलाडीहरुको मिश्रित सहाराको टिम बनेको छ।

त्यस्तै, फुटबलमा एपीएफले पछिल्लो समय सुधारिएको खेल प्रस्तुत गर्दै एकपछि अर्को सुखद नतिजाहरु निकालेर उपाधिहरु हात पार्दै आएको छ। यस प्रतियोगिताको गत संस्करणको उपविजेतासमेत रहेको एपीएफ फाइनलमा हिमालयन शेर्पासँग हारेको थियो।

एपीएफले भर्खरै मात्र पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदको फुटबलमा महत्वपूर्ण स्वर्ण पदक जितेको छ। नवौं राष्ट्रिय खेलकुदमा विभागीय आर्मीलाई सडेन डेथमा हराउँदै एपीएफले स्वर्ण जितेको हो।

एपीएफ, गत वर्ष पोखरामा सम्पन्न आहा रारा गोल्डकपको डिफेण्डिङ च्याम्पियन समेत हो। गत वर्ष आहा रारा गोल्डकपको फाइनलमा मनाङ मस्र्याङ्दीलाई हराउँदै एपीएफ च्याम्पियन बनेको थियो।

एपीएफसँगको खेलमा सहाराका प्रशिक्षक सुनिल रानाले पूर्व राष्ट्रिय खेलाडी अजित भण्डारीको कप्तानीमा पूर्व राष्ट्रिय गोलरक्षक विमल थापासहित आशिष गुरुङ, सरोज योञ्जन, रन्दीप पौडेल, जय गुरुङ, भिषन गुरुङ उतार्नेछन। विमल, आशिष, सरोज, रन्दीप, जय र भिषण हाल सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट खेलेका उत्कृष्ट खेलाडीहरु हुन्। यु–२० का राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ, दिपेश आले, सन्तबहादुर गुरुङ एपीएफविरुद्धको खेलमा उत्रनेछन्। सहारा एकेडेमीकै मुकुन्द न्यूरेलाई प्लेइङ–११ मा उत्रनेछन्।

सहारा एकेडेमीका रोमन थापा (गोलरक्षक) अभिषेक राना, अनिषपोमु लिम्बु, नवराज धमेल, विशाल नेपाली, भागवत चौधरी र जीवन रायमाझी सब्सीच्युट खेलाडी रहनेछन्।

सहाराका कप्तान अजित भण्डारीले एपीएफसँगको खेल टप हुने बताएका छन्। उनले भने, ‘आजको खेलमा एपीएफका लागि सहारा चुनैती बन्नेछ। प्रतिस्पर्धी एपीएफसँगको खेल फिफ्टी/फिफ्टीकै हुनेछ।’

त्यस्तै, प्रशिक्षक सुनिल रानाले पनि फुटबलमा हाई मोटिभेट भएको एपीएफलाई होल्डमा राखेर नतिजालाई आफ्नो पक्षमा पार्ने खेल पस्कने प्रतिक्रिया दिए।

व्यवस्थापक अतित गुरुङले सन्तुलित संयोजनसहित सहाराको टिम बनाएको उल्लेख गरे। उनले भने, ‘जित्नका लागि बेलबारी आएका हौं, एपीएफसँग उत्कृष्ट खेल पस्कन्छौं।’

प्रतियोगितामा सहारा क्लब पोखरासहित आयोजक डांगीहाट युथ क्लब (मोरङ, बेलबारी), सशस्त्र प्रहरी बल (एपीएफ) काठमाण्डौं, सहलेस युथ क्लब (सिराहा), राजारानी फुटबल क्लब (धनकुटा), रोलिङ क्लब धुलाबारी (झापा), पेम्बा युथ क्लब (विराटनगर), भारतको एमएम एफसी (वेष्ट बंगाल), युनाईटेड ब्रदर्श (कालिम्पोङ) र एभिनियर फुटबल क्लब (क्यामरुन) ले सहभागिता जनाएको छ।

प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगदसहित ट्रफी पुरस्कार पाउनेछन्। यस वर्ष पुरस्कार राशी बढाएको आयोजक डांगीहाट युथ क्लबले जनाएको छ। गत वर्ष पुरस्कार राशी विजेताको ५ लाख र उपविजेताको २ लाख ५० हजार थियो।

सर्वोत्कृष्ट खेलाडीले २५ हजार नगद पाउने क्लबले जनाएको छ। क्लबका अनुसार उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही १५/१५ हजार पुरस्कार पाउनेछन्। उत्कृष्ट प्रशिक्षकले ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछ।