बेलबारी गोल्डकप: सहारा बाहिरियो

जनसम्मत
कार्तिक १९, २०७९, शनिबार

पोखराको सहारा क्लब मोरङको बेलबारीमा जारी पाँचौ संस्करणको बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

उपाधि जित्ने लक्षसहित मोरङको बेलबारी डांगीहाट उत्रिएको सहारालाई सेमिफाइनल पुग्नबाट विभागीय एपीएफ बाधक बन्यो।

उत्कृष्ट खेल पस्केको सहाराले विभागीय सशस्त्र प्रहरीको एपीएफ (काठमाण्डौं) सँग टाइब्रेकरमा ५–४ ले हार ब्यहोर्‍यो।

निर्धारित ८० मिनेटमा दुबै टोलीले १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

टाइब्रेकरमा सहाराका कप्तान अजित भण्डारीसहित सरोज योञ्जन, दीपेश आलेमगर, जय गुरुङले टाइब्रेकरमा गोल गर्न सफल भए। आशिष गुरुङको टाइब्रेकर सूट भने एपीएफका गोलरक्षक राजु नगरकोटीले रोके।

यता, एपीएफको तर्फबाट भने गोलरक्षक राजु नगरकोटीसहित नविन लामा, हरि कार्की, सुदिप सिख्राकार र श्याम नेपालीको टाइब्रेकर सूट गोलमा परिणत भएको थियो।

बेलबारी डांगीहाट फुटबल मैदानमा भएको खेलमा दर्शकहरुको अपार समर्थन पाएर पनि सहारा क्लबले खेललाई बराबरीमा ल्याउन सफल बन्यो।

सहाराका गोलरक्षक टिकेन्द्र थापाले टाइब्रेकरमा पूरै खेल्न सकेनन्। एपीएफका हरि कार्कीको टाइब्रेकर सूट दायाँ खुट्टाले रोक्न खोज्दा टिकेन्द्रको घँुडाको चोट बल्झियो। यसअघि, नै एपीएफको फ्री–किक गोललाई रोक्न खोज्दा टिकेन्द्र घाइते घुँडाको चोट बोकी सकेका थिए। टिकेन्द्रको सट्टामा डिफेण्डर आशिष गुरुङले सहाराको पोष्ट सम्हाले।

यसअघि, खेलको २३ औं मिनेटमा गोल खाएको सहाराले पहिलो हाफको इञ्जूरी समयमा गोल फर्काएको थियो। करिब २० मिटरबाट भिषण गुरुङ फ्रीकिक बललाई कप्तान अजित भण्डारीको सर्ट पास डिफेन्डर भिषण क्रसमा आशिषका हेड क्रसलाई दीपश आलेले हेडबाटै गोल गर्दै सहारालाई खेलमा फर्काएका थिए।

यसअघि, विभागीय एपीएफले पनि फ्रीकिकबाटै गोल गर्दै खेलमा अग्रता लिएको थियो। डीबक्स नजिक एपीएफका नविन लामालाई सहाराका सन्तराम गुरुङले लडाएपछि एपीएफले फ्रीकिक पाएको थियो। प्राप्त फ्रीकिक अवसरलाई नविनले नै सिधा गोल गर्न सफल भए।

सहाराको एउटा टाइब्रेकर सूट रोक्न सफल एपीएफका गोलरक्षक राजु नगरकोटी खेलको ‘म्यान अफ दि म्याच’ बने।

मुख्य रेफ्री श्याम दनुवारले सहाराका सन्तराम गुरुङ र रन्दीप पौडेल तथा एपीएफका शरणसिंह बस्नेत, मणि लामा, दीपेश धिमाल र बीके तामाङलाई पहेंलो कार्ड देखाए।

विभागीय एपीएफ सेमिफाइनल पुगेको छ। अब, एपीएफले आयोजक बेलबारी डांगीहाट युथ क्लबसँग सेमिफाइनल खेल्नेछ। सिधा बाई पाएर क्वार्टरफाइनल खेलेको आयोजक डांगीहाट युथ क्लबले झापाको रोलिङ क्लबलाई हराउँदै सेमिफाइनल पुगिसकेको छ।

 

बेलबारी, डांगीहाट (मोरङ) बाट