गाउँ फर्क अभियान सुरु गर्नुपर्छ: विन्दुकुमार थापा

जनसम्मत
कार्तिक २०, २०७९, आइतबार

नेपाली कांग्रेस क्षेत्र २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान संचालन गर्न आवश्यक रहेको बताएका छन्।

गठबन्धनबाट उम्मेदवार बनेको थापाले पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै भने, ‘युवालाई विदेश तथा सदरमुकामतर्फ जान रोक्नुपर्छ। गएकालाई समेत गाउँमै फर्काउनका लागि गाउँ फर्क अभियान संचालनमा जोड दिनुपर्छ।’

थापाले भलाम कृषि पकेट क्षेत्रका साथै पर्यटकीय क्षेत्रको रुपमा समेत संभावना बोकेको क्षेत्र भएकाले अब स्थानीयस्तरमै व्यवसाय गर्नेगरी गाउँमा ल्याउने योजना अघि बढाउनुपर्नेमा जोड दिए।

‘भलाम कृषि, पर्यटनमा संभावना बोकेको क्षेत्र हो। यहाँ होमस्टेको पनि संभावना छ। यहाँको खेतबारी बाझो भएका छन्, घरहरु खाली भए।

युवालाई स्वदेशमै राख्नका लागि योजनाहरु ल्याउन आवश्यक छ’, उनले थपे, ‘विकासको पहिलो पूर्वाधार सडक भएकाले स्तरीय सडक बनाउनुपर्छ। जसले शिक्षा, स्वास्थ्य, रोजगार, व्यवसायको व्यवस्थापन हुन्छ। सदरमुकाम केन्द्रीत भएको अवस्थामा गाउँफर्क अभियान सुरु गर्नुपर्ने आवश्यकता अहिलेको हो।’

पाँच वर्षको बीचमा प्रदेशको संरचना बनाउने, आवश्यक पर्ने ऐन तथा निर्देशनलाय बनाउने काम गरेको र अबको ५ वर्ष विकास र समृद्धि भएको उनको भनाई थियो।

उनले आफ्नै पहलमा पोखरा–२० मा मणिपाल अस्पताल हुँदै अर्मलाकोटसम्म पुग्ने १७ किलोमिटर गौरवको सडक आयोजना राखेको बताए। जसको लागत २७ करोड २७ लाख ठेक्कामा पारी अहिले पीचको काम भइराखेको उनले सुनाए। सडक निर्माण डीपीआर तयार गर्न निकै बाधा आएको उनको भनाई छ।

‘काँहुखोला, आर्वा, लामडाँडा मौजा हुँदै आँटीघरसम्म जोड्ने १६ किमी सडक डीपीआर गर्ने क्रममा र त्यसलाई बजेट राख्ने क्रममा धेरै ठाउँमा संघर्ष र लडाइ गर्नुपर्‍यो। डीपीआर गर्नपनि नमानेर यो सडकलाई धेरै अवरोध खडा गरियो’, उनले भने, ‘मुख्यमन्त्रीसहितको टिम आउनुभयो र मुख्यमन्त्रीकै ठाडो आदेशमा पूर्वाधार मन्त्रालयबाट प्राविधिकहरु आएर डीपीआर भएर ३३ करोड रकम छुट्टियो’ उनले भने।

विजयपुर खोलामा पक्की पुलको आवश्यक परेको र उक्त पुल बनेमा लामाखेत क्षेत्रकै लाइफलाइनको रुपमा रहनेमा आफू आशावादीसमेत रहेको उनको भनाई छ।