डिजिटल गण्डकी प्रदेश निमार्णमा लाग्नेछु: थापा

जनसम्मत
कार्तिक २२, २०७९, मंगलवार

गण्डकी प्रदेश सभा क्षेत्र २ ‘ख’ का प्रत्यक्ष उम्मेदवार विन्दुकुमार थापाले गण्डकी प्रदेशलाई डिजिटल प्रदेशको रुपमा अघि बढाउने बताएका छन्।

गठबन्धनबाट साझा उम्मेदवार बनेका थापाले पोखरा महानगरपालिका १६ मा मतदातासँग भेटघाट गर्दै डिजिटल गण्डकी प्रदेश निमार्ण लाग्ने बताएका हुन्।

स्थानीयको समस्या बुझ्न हरेक मतदाताको घरमै पुगेका थापाले सुशासन, पारदर्शिता र भ्रष्टचारमा शून्य बनाउने लक्ष्य सहित गण्डकी प्रदेशलाई नागरिक मैत्री प्रदेश बनाउने बताए ।

‘सरकारी कार्यालयबाट प्राप्त हुने सेवालाई प्रदेशको हक र अधिकारले भ्याएसम्म यहिबाट र संघसँग समन्वय गर्नुपर्ने ठाउँमा समन्वय गरि डिजिटल गण्डकी प्रदेशको निर्माणमा लाग्नेछु’ उनले भने । स्थानीयहरुले थापालाई जितको शुभकामना समेत दिए।

विकासप्रमी थापाको नाम विन्दु नभई विकास हुनुपर्ने भन्दै मतदाताले उनलाई प्रदेश विकासका लागि कटिबद्ध भएर लाग्न आग्रह गरेका हुन्।

थापाले आफुले पाएको सेवा सुविधा समेत सामाजिक कार्यमा खर्च गर्ने बताए। अघिल्लो कार्यकालमा जसरी नै यसपटक पनि आफु विजयी भएमा राज्यबाट पाउने सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने बताएका हुन्।

‘अघिल्लो कार्यकाल जस्तै यस कार्यकालमा पनि प्रदेशसभा सदस्यको रुपमा मलाई प्राप्त हुने सम्पूर्ण तलब तथा सेवा सुविधाहरु यसै क्षेत्रको विकासका लागि विभिन्न सामाजिक कार्यमा खर्च गर्नेछु’ उनले भने।