समृद्धि गाउँबाटै सुरु हुन्छ : मीना गुरुङ

जनसम्मत
कार्तिक २२, २०७९, मंगलवार

एमाले नेतृ मीना गुरुङले समृद्धि गाउँबाटै सुरु हुने बताइन्।

उनले नयाँ नेपालको जग गाउँ भएको उल्लेख गरिन्।

कास्की २ (२) की उम्मेदवार गुरुङले केही पूर्वाधार बनिसकेका सहरमा योजनाबद्ध विकास र ग्रामीण क्षेत्रमा पूर्वाधार र अवसर पुर्‍याउनुपर्नेमा जोड दिइन्।

‘समृद्धिको सपना साकार पार्न सकिन्छ’, उनले भनिन्।

मंगलबार पोखरा–२० भलाममा चुनावी प्रचारमा गएकी उनले मतदातामाझ यस्तो प्रतिवद्धता गरेकी हुन्।

उनले पोखरा महानगरमा पछि थपिएका वडाका बासिन्दालाई महानगरबासीको अनुभूति दिलाउन पोखरा महानगरसँग सहकार्य गर्दै पहलकदमी लिने प्रतिवद्धता जनाइन्।

उम्मेदवार गुरुङले भनिन्, ‘महानगरमा गाभियो, सुविधा थपिएन। यस्तो विडम्बना छिट्टै हटाउँछौं।’

उनले भलाम जाने सडक कालोपत्र बनाउन र खानेपानीको उचित प्रबन्ध गर्ने बाचा गरिन्। यो क्षेत्रमा व्यवसायिक पशुपालन र खेतीको संभावना रहेकाले त्यसलाई पर्यटनसँग जोडेर अघि बढाउन प्रदेश सरकारलाई झक्झक्याउने उनको भनाई छ।

उनले ०१५ सालमा द्वारिकादेवी ठकुराठी प्रत्यक्ष निर्वाचित हुँदादेखि अहिलेसम्म पनि महिलालाई हेर्ने दृष्टिकोणमा ठूलो परिवर्तन आइनसकेको सुनाइन्।

उनले भनिन्, ‘समानता, सशक्तीकरण, सुशासन र समृद्धि मेरा एजेन्डा हुन्। द्वारिकादेवी ठकुराठीदेखि आजसम्म पनि अवस्था धेरै बद्लिएको छैन। मुख्य दलबाट ९ प्रतिशत उम्मेदवार महिला छौं, तीमध्ये पनि सबै विजयी हुने अवस्था छैन। आधा धर्तीलाई ७/८ प्रतिशत प्रतिनिधित्व हुने।’