डोटी भूकम्प: बझाङमा ६ घर भत्कियो

जनसम्मत
कार्तिक २४, २०७९, बिहीवार

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पका कारण जिल्लाका ६ घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पले बझाङको थलारा गाउँपालिकामा ५ र छबिसपाथिभेरा गाउँपालिकामा १ गरी ६ घर पूर्णरूपमा क्षति पुर्‍याएको छ भने ३८ घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

थलारा गाउँपालिका–९ सिरेटामा महोनराज जोशी, जौकला सिंह, हंसा चदारा, अपु नेपाली, वीरबहादुर नेपाली र छबिसपाथिभेरा गाउँपालिका–४ व्यासीका डबल कामीको घरमा पूर्णरूपमा क्षति पुगेको छ। त्यस्तै, थलारा गाउँपालिकाको सिरेटामै २५, केदारस्युँ गाउँपालिकामा ४, खप्तडछान्ना गाउँपालिकामा ९ वटा घरमा आंशिक क्षति पुगेको छ। यस्तै जिल्ला कारागार बझाङको भवनमा समेत आंशिक क्षति पुगेको छ।

भूकम्पको त्रासले रातभर थलारा गाउँपालिका–९ सिरेटाका स्थानिय मानिसहरु आगो बालेर खुला चौरमा बसेको समाचार छ। भूकम्पले मानवीय क्षति नभएपनि अधिकांश पुराना घरमा क्षति पुर्‍याएको र संचार सम्पर्क विच्छेद भएको छ।