अनलाइनमा दल र उम्मेदवारले चुनावी विज्ञापन गर्न पाइने

राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचार–प्रसारसम्बन्धी बढीमा एक मिनेटसम्मको श्रव्यदृश्य सामग्री अनलाइन संचारमाध्यमबाट प्रसारण गराउन सक्ने व्यवस्था छ

जनसम्मत
कार्तिक २५, २०७९, शुक्रबार

निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने जनाएको छ।

निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भइ प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन संचारमाध्यमबाट प्रचार–प्रसार गर्न पाउने निर्णय गरेको आयोगले जनाएको छ।

राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचार–प्रसारसम्बन्धी बढीमा एक मिनेटसम्मको श्रव्यदृश्य सामग्री अनलाइन संचारमाध्यमबाट प्रसारण गराउन सक्ने व्यवस्था छ। त्यस्तै, राजनीतिक दलले निजी क्षेत्रको अनलाइन संचारमाध्यमबाट रोडब्लक, कन्टेन ब्लक, होमपेज, ब्यानर, डिटेल पेज ब्यानर, बक्स विज्ञापन (समाचारको बीचमा)को माध्यमबाट चुनाव प्रचार–प्रसार गराउन सक्ने निर्णय गरेको छ। चुनावी प्रचार–प्रसार सामग्रीमा स:शुल्क विज्ञापन भएको जनाउ दिनुपर्ने रहेको छ।

अनलाइन सञ्चारमाध्यमबाट गरिने चुनाव प्रचार–प्रसार सामग्रीमा कसैप्रति गालीगलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति समावेश हुन नहुने र त्यस्तो विषय समावेश भएमा निर्वाचन आचारसंहिता उल्लंघन भएको मानिनेछ।

राजनीतिक दल वा उम्मेदवारले अनलाइन संचारमाध्यमबाट चुनावको प्रचार–प्रसार गर्दा लागेको खर्चको विवरण प्रचलित कानुनबमोजिम पेस गर्नुपर्ने चुनाव खर्चको विवरणमा समावेश गरी पेस गर्नुपर्ने रहेको छ। राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियो तथा पत्रपत्रिकाको माध्यमबाट चुनाव प्रचार–प्रसार गर्न सक्ने व्यवस्था छ।