अर्मलाकोटसम्म पुग्ने सडकको स्तरोन्नति, बाह्रै मास सवारी चल्ने बनाउनुछ: विन्दु थापा

जनसम्मत
कार्तिक २५, २०७९, शुक्रबार

कास्की क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दुकुमार थापाले अर्मलाकोटसम्म पुग्ने सडक स्तरोन्नति गरी बाह्रै मास सवारी चल्ने बनाउने बताएका छन्।

विहिबार घरदैलो गर्दै पोखरा–१६ अर्मलाकोटका मतदाहरुमाझ पुगेका थापाले आफू निवार्चित भएपछि अर्मलाकोटको सडक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

‘अर्मलाकोटको समस्या भनेकै सडक हो। यहाँ बाह्रै मास सवारी चल्न सक्ने सडकको आवश्यकता छ। सडकका कारण स्थानीयले भोग्नुपरेको समस्याका विषयमा म जानकार छु। कति काम हिँजो सरकारमा हुँदा पनि गरियो। अब, निर्वाचित भएपछि पनि अर्मलाकोटसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्ने काममा लाग्नेछु’, उनले भने।

थापाले नारायणस्थान, भलाम हरिहर गुफा, डाँडागाउ हुँदै अर्मला कोटसम्म पुग्ने गौरवको सडक सम्पन्न हुने अवस्थामा रहेको जानकारी गराए। उनले भलामबाट आँटिघर मौजा हुँदै बाटुलेचौर जोडिने रिङरोडको कामसमेत अगाडि बढेको र त्यसलाई सम्पन्न गर्नेगरी आफू लाग्ने प्रतिबद्धता व्यक्त गरे।

थापाले पोखरा–१६ लाई सम्वृद्ध वडा बनाउन कुनै कसर बाँकी नराख्ने बताए।

‘हिजो पनि हामीले गर्न सक्नेसम्मका काम गरेका छौं। थुप्रै योजनाहरु वडामा परेका छन्। आगामी समय पनि यहाँको आवश्यकता अनुसारको योजनालाई अगाडि बढाउनेछु’, उनले भने।

उनले घार्मीदेखि अर्मलाकोटसम्म पुग्ने सडकलाई २ लेनको बनाउने प्रतिबद्धता जनाए। समाज घरका निर्माण, गोरेटो बाटो र फोहोर व्यवस्थापनमा समेत पहलकदमी गर्ने भनाई उनको छ। होमस्टेको स्थापना गरी उद्यमशीलताको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता उनको छ।