विन्दु थापा भन्छन्, ‘पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र, मौजामा हाइअल्टिच्युडको खेल मैदान’

जनसम्मत
कार्तिक २४, २०७९, बिहीवार

कास्की क्षेत्र नम्बर २ (ख) का कांग्रेस उम्मेद्वार विन्दुकुमार थापाले पोखरामा अन्तराष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माणको पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

यसअघि, प्रदेश सरकारले हरेक बजेटमा रकम राखेरपनि काम अघि बढाउन नसकेको सम्मेलन केन्द्र आगामी ५ वर्षभित्र निर्माण गर्न आफूले पहल गर्ने थापाले बताए।

‘गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गर्न योजनालाई मूर्त रुप दिने काम गर्छु,’ उनले भने, ‘यसबाट पोखराको नयाँ गन्तव्य थपिने छ। सम्मेलन र सभाका लागि आउने पर्यटक बढ्ने छन्।’

थापाले गण्डकीमा बाह्य लगानी भित्राउन र पर्यटनको विकास गर्न लगानी सम्मेलन गर्ने प्रतिबद्धता जनाए। यस्तै, पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेटने गरी चक्रपथको निर्माणमा जोड दिने उनको भनाई छ।

थापाले भने, ‘सहरी क्षेत्रमा ट्राफिक जाम अत्याधिक बढेको छ। काँठका मान्छेहरुको दैनिकी सीधै मुख्य बजारसँग ठोकिएको छ। चक्रपथ निर्माण गरेर गाउँबाट हुने बसाईंसराईं रोक्न पहल गर्छु। यसबाट सहरको विकेन्द्रीकरण हुन्छ।’

उनले लेखनाथमा निर्माण गर्ने भनिएको बसपार्कलाई अत्याधुनिक रुपमा तत्काल निर्माण थाल्न सम्बन्धित पक्षसँग समन्वय गर्ने बताए।
मौजामा हाइअल्टिच्युड खेल मैदान र स्टेडियम निर्माणका लागि पहल गर्ने थापाको प्रतिबद्धता छ।

‘मौजामा अहिले पनि खेल मैदान निर्माणको क्रम चलिरहेको छ। तर, निकै सुस्त काम भैरहेको छ,’ उनी भन्छन्, ‘यसलाई तीब्रता दिइनेछ। एक हदसम्मको हाइअल्टिच्युड खेल मैदान यहाँ बन्छ।’

थापाले भूमिहिन सुकुम्बासीको समस्या समाधान गर्न जग्गाको लालपुर्जा वितरणका लागि चासो दिएका छन्। निस्सा पाएकालाई लालपुर्जा र निस्सा पाउन बाँकीलाई तत्कालै निस्सा दिन आफूले पहल गर्ने थापाको भनाई छ। कास्कीमा सुकुम्बासी समस्या समाधान आयोगले निरन्तर काम गरिरहेको छ।