विदेशमा काम होइन, बजार खोज्छौं: मीना

जनसम्मत
कार्तिक २६, २०७९, शनिबार

कास्की क्षेत्र नम्वर २ (२) बाट एमालेकी उम्मेदवार मीना गुरुङले एमालेकै नेतृत्वमा देशको समृद्धि संभव हुने बताएकी छन्।

पोखरा–११ का विभिन्न टोलका मतदातासँग मत माग्दै गुरुङले एमाले नेतृत्वको सरकारले गरेका कामको उदाहरण दिइन्। अब बन्ने सरकारले देशमा उत्पादनका संभावना खोज्ने उनको भनाई थियो।

उनले भनिन्, ‘सधैं अरुकै भरले देश चल्दैन। अब, नेपालमै उत्पादन बढाएर विदेशमा बजार खोज्नुपर्छ। के उत्पादन गर्ने भन्ने योजना हामीसँग छ। विदेशमा रोजगारी खोजेर देशको समृद्धि हुँदैन।’

अघिल्लो कार्यकालमा प्रदेशका ऐन, कानुन र पूर्वाधार बनाएकाले अबको कार्यकालमा जनताले प्रदेश सरकारको अनुभूति हुनेगरी काम गर्ने उनले वाचा गरिन्। महिला, दलित, भूमिहीन, श्रमिक, निम्न वर्गका जनताको हितका लागि एमालेको योजना भएको उनको भनाई छ।

उम्मेदवार गुरुङले भनिन्, ‘भूमीहीन, अव्यवस्थित बसोबासीलाई जग्गा दिने अभियान हामीले थालेका हौं, अब त्यो पूरा हुँदैछ। एकल, स्थिर र जनपक्षीय तवरले सरकार चलाउने सामथ्र्य एमालेसँग मात्र छ।’

कास्की–२ मा एमालेकी उम्मेदवार विद्या भट्टराई अधिकारीले मंसीर ४ पछि एमालेको नेतृत्वमा सरकार भन्ने अवस्था जनताको घरदैलोमा जाँदा देखिने बताइन्। उनले कास्कीका समस्या सम्बोधन गर्दै जनपक्षीय नीति निर्माण र ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियानलाई पूरा गर्ने वाचा गरिन्।

उनले भनिन्, ‘हामी प्रदेश र संघ दुवैतिर महिला उम्मेदवार एमालेबाट आएका छौं। विगतमा हामीले इमान्दारीपूर्वक काम गर्‍यौं। मूल्यांकन गर्ने अभिभारा तपाईहरुको हो।’