अधिकार दिनुहोस कर्तव्य पूरा गर्दछौ: विद्या भट्टराई

जनसम्मत
कार्तिक २६, २०७९, शनिबार

नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार दिएमा कर्तव्य पूरा गर्ने बताएकी छन्।

मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा घरदैलो कार्यक्रममा उनले जनताको भोटको कदर गरी आवश्यक नीति निर्माणसँगै आफ्नो क्षेत्रको विकासमा इमान्दरपूर्वक लाग्ने प्रतिवद्धता जनाइन्।

पोखरामा थपिएका नयाँ वडाहरुमा स्थानीयको पहिलो आवश्यकता सडक निर्माण रहेको उल्लेख गरिन्। उनले त्यसका लागि संभाव्यता अध्ययन गरेर ३ वटै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औल्याइन्।

उनले नयाँ वडाहरुमा कार्यालयसम्म पुग्ने सडकको अभावमा अहिले पनि जनता सेवा लिन घण्टै खर्चिनु पर्ने अवस्थाको अन्त्यका लागि सडक यातायात आवश्यक रहेको बताइन्।

नेत्री भट्टराईले भनिन्, ‘सडकले ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुग्दछ।’

जुनसुकै सरकारले गरेका विकास निर्माण, राष्ट्र र जनताकै लागि भएको उनले उल्लेख गरिन्।

दु:खको परिस्थितिमा उपनिर्माचनमा उम्मेदवार बनेको बताउँदै उनले कोभिडको महामारीका बाबजुद जनताका केही हदसम्म अपेक्षालाई सम्वोधन गरेको र बाँकी काम सम्पन्न गर्नका लागि पुन: उम्मेदवार भई मतदाता समक्ष आएको बताइन्।

नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेकी उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सार्थक बनाउन मुलुकका भूमिहीनलाई जग्गाको मालिक बनाउनुपर्नेमा जोड दिइन्। घरदैलो कार्यक्रमले स्थानीय आवश्यकतासहितका योजना संकलनमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गरिन्। उम्मेदवार भट्टराईले समाजका असहाय, गरिव, विपन्न वर्गको उत्थानका लागि युवा रोजगार तथा महिला सशक्तिकरणमा जोड दिनुपर्ने आवश्यकता औल्याइन्।

नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ (ख) का उम्मेदवार मिना गुरुङले मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणमा इमान्दारीताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरिन्।

मुलुकको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धन्त आवश्यक पर्नेमा जोड दिइन्। संविधानले व्यवस्था गरे अनुसारका महिला अधिकारलाई सुनिश्चित गर्नका लागि महिला शक्ति संगठित हुनुपर्नेमा उनको जोड छ।