विभागीय एपीएफ क्लब पीएम कप क्रिकेट च्याम्पियन

जनसम्मत
कार्तिक २६, २०७९, शनिबार

विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो।

उपाधिसँगै एपीएफले नगद १० लाख रुपैयाँ पुरस्कार जितेको छ। उपविजेता बनेको आर्मीले ५ लाख पुरस्कार जित्यो।

सेमिफाइनलबाट बाहिरिएका पुलिस क्लब र मधेस प्रदेशले ५०/५० हजार प्राप्त गरे।

विवादका कारण ढिला सुरु भएको खेल ४० ओभरमा झारिएको थियो। खेलमा आर्मीले एपीएफलाई जितका लागि १८० रनको लक्ष्य दिएको थियो।

आर्मीले दिएको लक्ष्य एपीएफले ३८ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो। एपीएफको जितमा भुवन कार्कीले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ खेले।

आर्मीका जितेन्द्र मुखियाले २ विकेट लिए। सोमपाल कामी, बिक्रम सोब र सुशन भारीले १/१ विकेट लिए।

त्यसअघि, पहिले ब्याटिङ गरेको आर्मीले ३९ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो। आर्मीका युवा ब्याटर तथा राष्ट्रिय टोलीका नवनियुक्त कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता थियो।