यस सिजनमा दोस्रो पटक सगरमाथा चढेर अर्को रेकर्ड बनाउने कामीरिताको घोषणा

सन् २००९, २०१० र २०१३ मा एकै याममा कामीरिताले दुई पटक सगरमाथा चढेका थिए

जनसम्मत सहकर्मी
जेठ ४, २०७६, शनिबार

सोलुखुम्बु । कीर्तिमानधारी आरोही कामिरिता शेर्पाले अर्को हप्ता फेरि सगरमाथा चढ्ने बताएका छन् ।

यस सिजनमा दुई पटक सगरमाथा आरोहण गरेर अर्को नयाँ रेकर्ड बनाउने कामीरिताले बताएका छन् । अर्को हप्ता कामीरिताले पुनः दोस्रो आरोहण सफल बनाए भने उनको सगरमाथा आरोहण २४ पुग्नेछ । उनले आफैले बनाएको सगरमाथा आरोहणको अर्को रेकर्डलाई तोड्नेछन् ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सबै भन्दा बढि पाइला राख्नेमा कामीरिता अग्रस्थानमा हुनेछन् । कामिरिताले मंलवार २३ औँ पटक विश्वको सर्वोच्च शिखरमा टेक्दै सबैभन्दा बढी पटक सगरमाथा चढ्ने आफ्नै कीर्तिमानलाई तोडेका थिए ।

‘तेइसौँ पटक चढ्दा एकदमै खुसी लागेको छ,’ कामिरिताले सगरमाथा आधार शिविरबाट भने, ‘यो ऋतुमा अब फेरि चढ्छु ।’

एकै याममा दुई पटक सगरमाथा चढ्नु नौलो कुरो होइन । कामिरिताले यस अगाडि पनि तीन आरोहण याममा दुई दुई पटक सगरमाथा चढिसकेका छन्। उनले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए ।

सन् २०१२ मा पनि उनी दुई पटक चुचुरोमा पुगेका थिए तर आधार शिविर नआईकन चौथो शिविरबाटै पुनः माथि लागेकोले त्यसले छुट्टै आरोहणको मान्यता पाएन । सगरमाथा आरोहणका लागि अबको उपयुक्त दिन मे २२ को आसपासमा हुने बताइएको छ ।

कामिरिता शेर्पाको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले उनको दोस्रो आरोहणका लागि प्रशासनिक काम भइरहेको बताए ।