दरिलो सरकार,काममा रफ्तार: मीना गुरुङ

जनसम्मत
कार्तिक २६, २०७९, शनिबार

एमाले उम्मेदवार मीना गुरुङले जनताले स्थिर, दरिलो सरकार र तीव्र विकासका लागि एमालेलाई नै छान्ने बताएकी छिन्।

कास्की २ (२) मा उम्मेदवार बनेकी उनले मंसीर ४ को चुनावपछि एमालेले प्रदेशहरु र संघमा एकल सरकार बनाउने दावी गरिन्।

उनले भनिन्, ‘हाम्रा एजेन्डा, जनताको आर्कषण र अहिलेको माहोलले हाम्रो जित भइसकेको छ।’

गण्डकी प्रदेश सभाकी निवर्तमान सांसद समेत रहेकी उनले अघिल्लो कार्यकालमा सुरु गरी अधुरा रहेका योजना पूरा गर्न पनि आफू दोहोरिन चाहेको उल्लेख गरिन्।

शनिवार पोखरा–९ मा घरदैलोका क्रममा उनले मतदाताले दिएको सुझावलाई आत्मसाथ गरिन्। उक्त क्षेत्रको विकास, निर्माणमा समर्पित हुने प्रण गरिन्। मुलुकको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धान्त आवश्यक पर्नेमा जोड दिंदै उनले यसको खाका र इच्छा शक्ति एमालेसँग मात्र भएको दावी गरिन्।

पार्टीको उद्देश्य, घोषणापत्र, भावी योजना र कार्यान्वयनमा एमालेभित्र कतै समस्या नभएको उनले जनाइन् । उनले भनिन्, ‘म सँगसँगै टिकटको आकांक्षा राख्नुभएका साथीहरु, मेरो क्षेत्रका नेता, कार्यकर्तालाई चुनावी अभियानमा हुनुहुन्छ। हाम्रो एकता र जनताको सदिच्छा नै हाम्रो जितको मुख्य आधार हो।’