काहुँडाँडामा गुरु योजनासहितको विकास ल्याउँछु: थापा

जनसम्मत
कार्तिक २७, २०७९, आइतबार

गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताएका छन्।

गठबन्धनबाट कास्की क्षेत्र २ (२) मा प्रत्यक्ष उम्मेदवार बनेका थापाले पोखरा महानगरपालिका वडा ११ काहुँडाडाँमा घर–दैलो गर्दै चुनावीसभामा उक्त कुरा बताएका हुन्।

थापाले वडा नं. ११ मा काहुँडाडा निकै पिछडिएको बताउँदै यसको विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको सुनाए। उनले आफू अबको ५ वर्षपनि जनताको काम गर्न आएको सुनाउँदै अघिल्लो ५ वर्ष प्रदेश नामाकरण, प्रदेश संरचना निर्माण, नीति नियम, ऐन कानून निर्माण गर्दा सकिएको स्पष्ट पारे।

थापाले आफूले ५ वर्ष अघि जितेर गएपनि विकासका योजना ल्याउने मन्त्रालयमा नपर्दा चाहेजति विकास गर्न नसकेकोमा आफू लज्जित भएको बताए।

उनले भने, ‘म यो ठाउँको सांसद भएरपनि तपाइँहरुले चाहेजतिको विकास गर्न सकिन। मेरो अधिकार क्षेत्रले जति दियो त्यतिमात्रै गरे। फेरी मैले मन्त्रालय पनि विकासका योजना ल्याउने खालको पाइन’, उनले भने, ‘तपाइँहरुलाई थाहै छ, म कानून बनाउने मन्त्रालयमा परे। हाम्रै सरकार हुँदा पनि मैले थोरै मात्रै काम गरे।’

थापाले काहुँ विकासका लागि आफूले स्थानीयसँग बसेरै गुरुयोजना निर्माण गरी अघि बढ्ने सुनाए।

‘बजारबाट नजिकै रहेरपनि काहुँ निकै पिछडिएको क्षेत्र हो। मैले यहाँको सबै समस्या बुझेको छु। सबैभन्दा ठूलो समस्या भनेको सडक नै हो। सडक सञ्जाल भयो भने सबैतिर विकास हुन बेर लाग्दैन। अर्को कुरा सराङकोट भन्दापनि यो बढी रमणीय ठाउँ छ। तरपनि, विकास हुन सकेन’, उनले थपे, ‘अब काहुँडाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन जरुरी छ। सडक मात्रै होइन् तपाईंहरुले भनेझै यहाँको पदमार्ग पनि बनाउनुपर्छ। ताकी हाइकिङ आउने गरोस्।’

थापाले अब आफ्नो ठाउँको लागि पार्टीभन्दा माथि उठेर हेर्नुपर्ने भनाई राखे। थापाले रानीबौर हुँदै जाने सडकलाई अब कृषि सडकको रुपमा विकास गर्ने गरी प्रदेशको रातो किताबमा परेको समेत सुनाए।

उनले कृषि सडक अन्तरगत १ करोड रुपैयाँ विनियोजन भइसकेको र अब काम सुरु हुन मात्रै बाकीँ रहेको बताए। उक्त योजनालाई आफू निर्वाचित भएर गएमा बहुवर्षे योजनामा पार्दै स्तरीय कृषि सडकको रुपमा विकास गर्ने बताए।

थापाले काहुँमा समेत ठाउँठाउँमा पहिरोको जोखिम भएकाले पहिरो जोखिम नियन्त्रण गर्दै वातावरणीय अनुकुलको विकासलाई बढाउन आजको आवस्यकता रहेको स्पष्ट पारे।

‘विकास निर्माणका लागि योजना लिएर आउन मन्त्रालयको कार्य क्षमताले दिएन। सामाजिक वा अन्य कुनै मन्त्रालय पाएको भएपनि काम गर्ने थिए। तर, त्यसो हुन सकेन। कानुन बनाउने स्थानमा भइयो, त्यसैले मेरो अधिकार क्षेत्रमा परेन। मैले भ्याएसम्म गरे’, उनले भने।