मत दिनुस्, नमुना प्रदेश दिन्छौं: विश्वप्रकाश

जनसम्मत
कार्तिक २६, २०७९, शनिबार

पाँच दलीय गठबन्धनबाट कास्की २ (१) का साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखरा उपत्यका नगर विकास समिति र फेवाताल जग्गा छानबिन समितिको जिम्मेवारीमा हुँदा जस्तैको नमुना काम गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले पहिलेका जस्तै नमुना काम गर्ने मौका दिन मतदातालाई आग्रह गरे।

लामिछानेले लोकतन्त्रमा निर्वाचन नै दल र नेताहरुको मुख्य परीक्षा भएको उल्लेख गरे।

माओवादी केन्द्रका नेतासमेत रहेका लामिछानेले भने, ‘मैले जिम्मेवारी पाउँदा नमुना काम गरेको यहाँहरुलाई जानकारी नै छ। फेरिपनि, जिम्मेवारी दिनुभयो भने पछुताउनु पर्दैन।’

उनले माओवादी र काँग्रेसको सहकार्यले देशको व्यवस्था परिवर्तन भएको स्पष्ट पारे।

‘अब, अवस्था परिवर्तन पनि यिनै दलबाट संभव छ’, उनले भने।

उनले पोखरा प्राकृतिक, सांस्कृति रुपमा निकै सुन्दर र अनुपम रहेको चर्चा गरे। उनले यसलाई विश्वकै सुन्दर सहर बनाउन सकिने संभावना औंल्याए।

लामिछानेले भने, ‘प्रकृतिले हामीलाई अथाह सम्पदा र संभावना दिएको छ। यसको संरक्षण गर्दै पूर्वाधार निर्माण र प्रचार–प्रसार मात्र गर्न सकेपनि यो क्षेत्रका मुहार फेर्न सकिन्छ।’

आफ्नो क्षेत्रमा विजयी भएमा स्वास्थ्य र शिक्षासँगै विकास निर्माणका काममा ध्यान दिने उनले प्रतिवद्धता जनाए।

‘अहिले देशका लागि असल नेतृत्वको आवश्यक परेको छ। यसैका लागि हामी गठबन्धन गरेर आएका हौं’, उनले भने, ‘कास्की २ (१) मा मलाई विजयी गराउनुभयो भने यस क्षेत्रको नमुना विकास गरेर देखाउनेछु।’

पोखरा १७ मा शनिबार भएको घर–दैलो र कोणसभामा नेपाली काँग्रेसबाट समानुपातिक उम्मेदवार बनेकी वृन्दा रानाले स्थिर सरकार, रोजगारी, आर्थिक वृद्वि र भष्ट्रचार नियन्त्रणका लागि गठबन्धन बनेको बताइन्।