गठबन्धनका उम्मेदवारहरु भन्छन्: ‘पोखरामा सेटलाइट टाउन निर्माणको पहल गर्छौ’

जनसम्मत
कार्तिक २७, २०७९, आइतबार

कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरामा सेटलाइट टाउन निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

पोखराको ग्रामीण वडा वा सँगै जोडिएका स्थानमा ग्रेटर पोखराको अवधारणासँग तालमेल गर्न ५ वटा सेटलाइट टाउन निर्माण गर्न पहल गर्ने उनीहरुले जनाएका छन्।

यस्तै, फेवाताल संरक्षण सौन्दर्यीकरण परियोजना गर्ने तथा जैविक प्रवद्र्धन परियोजनालाई गठबन्धन उम्मेदवारहरुले प्राथमिकता दिएका छन्।

अत्याधुनिक पर्यटक सूचना केन्द्र स्थापना र संचालन गर्न पहल गर्ने, पोखरादेखि विभिन्न तालसम्म एअर कनेक्सन गर्न पहल गर्ने बताएको छ। होमस्टे संचालन गरी ग्रामीण पर्यटन हबको कार्यक्रम संचालन गर्ने नीति पनि लिएको छ।

यसैगरी, भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई सहयोग पुग्ने किसिमको आवास सहकारी कार्यक्रम संचालन गर्ने, रोजगारी दिलाउने एवं जग्गाधनी प्रमाणपत्रपूर्जा दिलाउने प्रतिवद्धता जनाएका छन्। गठबन्धनले उद्यमशीलता, पर्यटन, रोजगार तथा मानव संसाधन विकाससहित स्थानीय स्रोत, साधनको अधिकतम परिचालन गरी रोजगारका अवसरहरु सृजना गर्न पहल गर्ने बताएको छ।

रेमिट्यान्स परिचालन गरी पर्यटन, कृषि र उद्योग विकासका पूर्वाधार निर्माण गरी उद्यमशीलता प्रवद्र्धन गर्न विप्रेषण सदुपयोग कार्यक्रम संचालन गर्न पहल गर्ने जनाएको छ। दक्ष जनशक्तिलाई स्थानीय स्तरमा परिचालन गर्न विशेष स्वरोजगार कार्यक्रम सञ्चालनको पहल गर्ने पनि उनीहरुको प्राथमिकता छ।

युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कृषि, पर्यटन र साना व्यावसाय संचालन गर्न आवश्यक सीप, तालिम तथा लगानीमैत्री वातावरण कायम गर्न विशेष योजना ल्याउने प्रतिवद्धता गरिएको छ। हाइकिङ पोइन्ट, दृष्यावलोकन केन्द्र, हरियाली प्रवद्र्धन कार्यक्रम, जैविक विविधता पार्क, बनस्पती उद्यान स्थापनालगायतका कार्यक्रम गठबन्धनका उम्मेदवारहरुको प्राथमिकतामा छन्।

रोजगारीका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवप्रवर्तन र अनलाइन रोजगार बजारजस्ता सेवा प्रदान गर्न मानव संसाधन विकास केन्द्र स्थापनाका लागि पहल गर्ने उनीहरुको प्रतिवद्धता छ।