मंसीर ४ र ५ गते गरी २ दिन सार्वजनिक विदा

जनसम्मत
कार्तिक २९, २०७९, मंगलवार

सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा २ दिन विदा दिने भएको छ।

गृह मन्त्रालयले आज (मंगलबार) सूचनामार्फत आगामी ४ र ५ मंसीरमा सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रकाशित गरेको सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालयमा भने मंसीर २ देखि ५ गतेसम्म विदा दिइएको छ।

निर्वाचन आयोगले यसअघि नै निर्वाचनमा बढीभन्दा बढी सहभागिता रहोस् भनेर सार्वजनिक विदा दिन सरकारलाई आग्रह गरेको थियो।

निर्वाचन आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो।

आयोगले सरकारसँग यही मंसीर २ देखि ५ मंसिर गते सोमबारसम्मका लागि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिन प्रस्ताव गरेको थियो। मंसीर ३ गते भने शनिबार परेको छ। निर्वाचन हुने दिन मंसीर ४ गते आइतबार परेको छ।

यसैबीच, त्रिभुवन विश्वविद्यालयले पनि आगामी मंसीर १ देखि ५ गतेसम्म विश्वविद्यालयका सबै क्याम्पस र कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। विश्वविद्यालयका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको छ।

कतिपय क्याम्पसमा मतगणना केन्द्रसमेत राखिएको हुँदा विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने देखिएकाले विदा दिने निर्णय गरिएको विश्वविद्यालयले जनाएको छ।