एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट: नेपालले युएईलाई ३ विकेटले हरायो

जनसम्मत
कार्तिक ३०, २०७९, बुधबार

दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले युएईलाई हराएको छ।

आज (बुधवार) भएको खेलमा नेपालले यूएईलाई तीन विकेटले हरायो।

युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायो। नेपालका लागि गुलशन झा र आरिफ शेखले सातौँ विकेटका लागि ६२ रनको साझेदारी गरे।

गुलशन झा ३७ रनमा आउट भए भने आरिफ ३३ रनमा नटआउट रहे। यस्तै, कुशल भुर्तेलले ३५ रन बनाए। बलिङतर्फ युएईका रोहन मुस्तफाले ३ र हजरत बिलालले २ विकेट लिए।

यसअघि, त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा १९१ रन बनाउँदा अलआउट भयो। युएईका मुहम्मद वासिमले ५० र अलिशन शरफुले ३५ रन बनाए।

नेपालका सोमपाल कामी र ललित राजवंशीले समान ३/३ विकेट लिए। त्यस्तै, करन केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए।

यो जितसँगै नेपालले ३ खेलको शृंखलामा १–१को बराबरी खेलेको छ।

यसअघि, भएको पहिलो खेलमा युएई ८४ रनले विजयी बनेको थियो। तेस्रो तथा निर्णायक खेल आउँदो शुक्रवार हुनेछ।