हप्ता दिनमै दुई पटक सगरमाथा आरोहण गरेर कामीरिताले फेरी आफ्नै अर्को रेकर्ड तोडे

पर्यटन व्यवसायीहरु भन्छन्, ‘यो राष्ट्रकै गौरवको विषय हो’

जनसम्मत
जेठ ७, २०७६, मंगलवार

पोखरा । कामीरिता शेर्पाले आफनै कीर्तिमान तोड्दै २४ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

सोलुखुम्बु थामेका साहसिक आरोही शेर्पाले सोमबार विहान ६ः३८ मा एकै सिजनमा दुई पटक सगरमाथाको आरोहण गरेको सगरमाथा आधारशिविरबाट सरकारका सम्पर्क अधिकृतहरुले जानकारी दिएका छन् ।

जेठ १ गते बिहान ७ः५० बजे विश्वको सर्वोच्च शिखर सगरमाथामा २३ औँ पटक पाइला टेकेका शेर्पाले सातदिनभित्रै दुई पटक सगरमाथाको आरोहण गरेका हुन् ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । यसपटकको दुवै आरोहण शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत गरेका हुन् ।

यो राष्ट्रकै गौरवको कुरा भएको पर्यटन व्यवसायीहरु बताउँछन् । सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका कामिरिताले आरोहणअघि २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताउँदै आएका थिए । बौद्ध धर्मअनुसार एक महिना अघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए ।