सफल व्यवसायी, विकासप्रेमी नेता, विन्दुकुमार थापा

थापाका २४ प्रतिबद्धताहरु

जनसम्मत
कार्तिक २८, २०७९, सोमबार

विन्दुकुमार थापा कास्की निर्वाचन क्षेत्र नं २ (ख) बाट गठबन्धन तर्फबाट उम्मेदवार हुन्।

थापा गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री समेत हुन्।

२०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट कास्की जिल्ला क्षेत्र नं. २ को (ख) बाट उनी प्रदेश सभा सदस्यका रुपमा निर्वाचित भएका थिए। पोखरा उद्योग बाणिज्य संघको अध्यक्ष भई थापाले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरिसकेका छन्।

विकासप्रेमी नेताका रुपमा उनको परिचय अगाडि आउँछ। थापा एक सफल व्यवसायी पनि हुन्। अंशुभरा ग्रुपका लगानीकर्ता समेत रहेका उनी व्यवसायिक क्षेत्र हुँदै राजनीतिमा प्रवेश गरेका हुन्।

उनको आफ्नै निरन्तरको लगनशीलता र मिहेनतले नै उनलाई व्यवसायिक सफलता दिलाएको हो। आवाजविहीनका आवाजहरुलाई संसदमार्फत उठान गर्ने नेता हुन् थापा। सबैलाई बराबरी रुपमा जिम्मेबारी प्रदान गर्नुपर्छ भन्ने मान्यता उनको छ। जीवनमा असफलता र असक्षमता भन्ने कुरा नरहेको अभिव्यक्तिहरु उनिभित्र भेटिन्छन्।

गण्डकी प्रदेशसभाका लागि निर्वाचित भएपछि थापाले गण्डकी प्रदेश नामाकरणका विषयमा महत्वपूर्ण काम गरे। गण्डकी प्रदेश नामाकरण गर्ने समितिको सभापतित्व ग्रहण गरेर थापाकै पहलमा तत्कालीन प्रदेश ४ को नाम गण्डकी रहन गएको हो।

थापा मध्यम परिवारमा जन्मिएका हुन्। स्व.बुवा चन्द्रबहादुर थापा र आमा चन्द्रकला थापाको जेठा सुपुत्र थापाको पनि ४ सन्तान छन्। थापाको २ छोरा र २ छोरी छन्। पोखराको नयाँबजारमा बाल्यकाल जीवन बिताएका थापाको प्राथामिक शिक्षा महेन्द्र सेकेन्डरी स्कुलमा भएको थियो। मालेपाटनस्थित बाराही सेकेण्डरी स्कुलबाट एसएलसी उत्तीर्ण र पृथ्वीनारायण क्याम्पसबाट उच्चशिक्षा लिए। थपाले कानून विषयमा स्नातकोत्तर गरेका छन्।

 

थापाका २४ प्रतिबद्धताहरु

प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि सुशासन र पारदर्शिताको मूल मन्त्रलाई अंगीकार गर्दै भ्रष्टाचारमुक्त तथा जनमैत्री जनप्रतिनिधिको रुपमा अघिल्लो कार्यकालजस्तै तपाईंहरुसँग सधैं नजिक रहेर आफ्नो कार्यसम्पादन गर्ने कुरामा मेरो मुख्य ध्यान रहनेछ। समग्र गण्डकी प्रदेशकै विकासका लागि गुरुयोजना तयार पार्न तथा कार्यान्वयन गर्न मेरो सिर्जनशील भूमिका रहनेछ।

दलीय गठबन्धनबाट उम्मेदवार रहेको म गठबन्धनका अरु दलहरुसँगको सहकार्यलाई आत्मसात गर्दै नेपाली काँग्रेसको एक जिम्मेवार सदस्यका हिसाबले प्रदेश सभा निर्वाचन २०७९ का लागि नेपाली काँग्रेसले तयार पारेको संकल्पप्रति पूर्ण प्रतिबद्ध रही स्थानीय आवश्यकताका आधारमा एक जिम्मेवार जन–प्रतिनिधिको हैसियतमा आफ्नो क्षेत्रको समृद्धि र विकासका नीति निर्माण गर्न थप निम्न बुँदाहरुमा म प्रतिबद्ध छु।

अघिल्लो कार्यकाल जस्तै यस कार्यकालमा पनि प्रदेश सभा सदस्यको रुपमा मलाई प्राप्त हुने सम्पूर्ण तलब तथा सेवा सुविधाहरु यसै क्षेत्रको विकासका लागि विभिन्न सामाजिक कार्यमा खर्च गर्नेछु। सदाझै सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलता प्रमुख मन्त्र रहनेछ।

समृद्ध प्रदेशको आधार, उर्जा, कृषि, उद्यमशीलता, पर्यटन र पूर्वाधार रणनीतिलाई आत्मसात गर्नेछु।

कोरला नाकादेखि गण्डकी प्रदेशको नवलपुरबाट भारतको सीमासम्म जोडिने मोटरबाटोलाई उच्च प्राथमिकतामा राखी चीन र भारत दुबै बिचको व्यापारिक सेतुका रुपमा तथा दुबै देशका पर्यटकलाई भित्राउन सजिलो हुने र गण्डकी प्रदेशले फाइदा लिने गरी स्थलमार्ग निर्माण गर्न पहल गर्नेछु।

गण्डकी प्रदेशमा लगभग १२००० मेगावाट बिजुली उत्पादनको संभावना रहेपनि हालसम्म लगभग साढे ६ सय मेगावाट मात्रै उत्पादन भइरहेकोमा गण्डकी प्रदेशलाई जलविद्युत उत्पादनको केन्द्र बनाउने योजनासहित यस क्षेत्रमा भएका जलप्रवाहलाई उच्चतम रुपमा सदुपयोग तथा सौर्य उर्जा र उपल्लो हिमाली भेगमा वायुऊर्जा उत्पादन गर्नका निमित्त आवश्यक नीति निर्माणमा जोड दिन पहल गर्नेछु।

समग्र प्रदेशको एकीकृत पर्यटन विकासका लागि बृहत्तर पोखरा (ग्रेटर पोखरा) को अवधारणा राख्दै त्रिवेणीधामदेखि मुक्तिनाथसम्म विभिन्न जिल्लामा पर्ने धार्मिकस्थलहरुलाई जोड्ने गरी धार्मिक पर्यटनका लागि रुट निर्माण र त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न पहल गर्नेछु।

केवल प्राकृतिक पर्यटनमा भर परिरहँदा गण्डकी प्रदेशको पर्यटन मौसमी मात्रै रहेकाले अब मानवनिर्मित पर्यटकीय आर्कषणका केन्द्र थप गरी तथा सांस्कृतिक पर्यटनलाई समेत प्रवद्र्धन गरी सबै मौसम पर्यटकीय मौसमका रुपमा विकास गर्न योजना अगाडि बढाउनेछु।

निजी क्षेत्रसँगको सहकार्यमा होटल पूर्वाधार र जनशक्तिको विकास एवं गन्तव्यहरूको प्रवद्र्धन गर्न योजना अगाडि सार्नेछु। पश्चिमी राष्ट्रहरू र मध्यम वर्गीय जनघनत्व भएका उदीयमान एसियाली राष्ट्रहरूबाट पर्यटकहरू भित्राउन व्यापक बजारीकरण गरिनेछ।

सरकारी र सार्वजनिक नयाँ पूर्वाधारको निर्माण गर्दा स्थानीय पहिचान झल्किने र पर्यटकका लागि आकर्षण बन्न सक्ने परम्परागत संस्कृतिलाई कलात्मक रुपमा सौन्र्दयकरणका निम्ति जोड दिनेछु।

गण्डकी प्रदेशमा बाह्य लगानी भित्राउन र पर्यटनको प्रचुर विकास गर्न लगानी सम्मेलन गरीनेछ।

गण्डकी प्रदेशको राजधानी पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेटने गरी चक्रपथको निर्माणका लागि पहल गर्नेछु।

गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्न योजनालाई मूर्त रुप दिन कार्यतर्फ अगाडि बढ्नेछु।

परम्परागत शैलीमा निर्माण भएका घरहरुको संरक्षण तथा त्यस्तै शैलीमा नयाँ घर निर्माण गर्न खोज्नेहरुका लागि घरकर तथा अन्य सहुलियत दिएर प्रोत्साहन गर्न पहल कदमी लिनेछु।

कृषिको व्यवसायिकरण गर्न गण्डकी प्रदेशस्थित सहर वरिपरि कृषि पकेट क्षेत्रको पहिचान गरी आधुनिक कृषि प्रणाली अवलम्बनका निमित्त कार्ययोजना अगाडि बढाउनेछु।

कृषिलाई प्रत्यक्ष रुपमा रोजगारीसँग जोडेर यूवाहरुको क्षमताको उपभोग र उत्पादनशीलता बढाउन आर्कषक योजना ल्याइनेछ।

लेखनाथमा निर्माण गर्ने भनिएको बसपार्कलाई अत्याधुनिक रुपमा तत्काल निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गर्नेछु।

दक्ष जनशक्तिलाई नेपालमै अवसर सिर्जना गर्न उद्यमशीलता कार्यक्रमलाई प्रश्रय दिँदै बिज लगानीको अवधारणा अगाडि सार्ने तथा बाह्य लगानी भित्राउने, आन्तरिक पुँजीको समुचित उपयोग र औद्योगीकरणको विकासमा मेरो ध्यान रहनेछ।

महिलाहरुको उद्यमशीलता बढाउन प्रत्येक प्रदेशमा महिला उद्यमशीलता केन्द्रको स्थापना गरी नगरपालिका र गाउँपालिकाहरुमा लघुउद्यम र व्यवसायिक तालिमलाई जोड दिइनेछ।

कतिपय भूमिहीन नागरिकले जग्गाको निस्सा प्राप्त गरिसक्नुभएको र बाँकी रहेको भूमिहीनहरुको व्यवस्थित बसोवासका लागि सम्बन्धित निकाय समक्ष समन्वय गर्नेछु।

गण्डकी प्रदेशलाई अन्तर्राष्ट्रिय खेलकुद केन्द्रको रुपमा विकास गर्न सोहीअनुसार पूर्वाधारहरु निर्माणका लागि पहल गर्नेछु । हाई अल्टिच्युड खेलकुद मैदान र स्टेडियम निर्माणमा जोड दिनेछु।

गण्डकी प्रदेशका विविध जातजाति र धार्मिक आस्थाका धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र स्तरोन्नति गर्नका लागि योजना अगाडि बढाउनेछु।

विकराल समस्याका रुपमा रहेको वैदेशिक पलायनलाई रोक्नका लागि प्रत्येक जिल्लामा नमुना शिक्षण संस्थाको स्थापना गरी व्यवसायिक र प्राविधिक शिक्षालाई जोड दिनेछु।

यस कार्यकालमा निर्माणको अन्तिम चरणमा रहेको मिडिया विधेयक प्रेस स्वतन्त्रतामैत्री बनाई श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने व्यवस्थातर्फ पहलकदमी गर्नेछु।

गण्डकी प्रदेशको राजधानी पोखरामा प्राथमिकताका आधारमा विशिष्टकृत अस्पताल र पहिलो चरणमा विशिष्टकृत मुटु अस्पताल निर्माणको पहल गर्नेछु।

सरकारी कार्यालयबाट प्राप्त हुने सेवालाई प्रदेशको हक र अधिकारले भ्याएसम्म यहिबाट र संघसँग समन्वय गर्नुपर्ने ठाउँमा समन्वय गरि डिजिटल गण्डकी प्रदेशको निर्माणमा लाग्नेछु।

प्रदेश सभा सदस्य र गण्डकी प्रदेश सरकारको मन्त्रीका रुपमा समेत मेरो अघिल्लो कार्यकाल पूर्ण विवादरहित र सफल रहेको आमजनमानसको मूल्यांकनले मलाई थप हौस्याएको छ। संसदीय व्यवस्था र प्रदेश तहमा नेतृत्व प्रमाणित गरिसकेकाले हालसम्म मैले आर्जन गरेको अनुभव र सफलताको उर्जालाई र संघीयताको जग सफलतापूर्वक राखिसकेर अबको कार्यकाल गण्डकी प्रदेशको समृद्धिमा लगाउने दृढ इच्छा भएको मलाई ५ दलीय गठबन्धनका तर्फबाट जनताको प्यारो पार्टी नेपाली कांग्रेसले मलाई पुन: उम्मेदवार बनाएको छ। राजनीतिलाई फोेहोरी खेलको रुपमा बुझेका आमजनताको राजनीतिप्रतिको वितृष्णा कार तुल्याउनु आजको चुनौती हो र मेरो उम्मेदवारी त्यही जिम्मेवारी बोधका साथ आएको हो। आउनुहोस्, गण्डकी प्रदेश र कास्की २ (२) को निर्माणमा हातेमालो गरौं।