गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्का बर्खास्त

जनसम्मत
कार्तिक २९, २०७९, मंगलवार

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्का बर्खास्त भएका छन्।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खड्कालाई बर्खास्त गरेका हुन्।

खड्काले समाल्दै आएको मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैले सम्हाल्ने गरी हटाएका हुन्।

खड्काले गठबन्धनका कास्की –२ ख का उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेको बताइएको छ। खड्काले पछिल्लो समय गठबन्धनका उम्मेदवारविरुद्ध भोट माग्दै हिँडेको आरोप छ।

खड्का ०७४ सालमा निर्वाचनमा समानुपातिकबाट गण्डकी प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए। एमालेसँग मिलेर भोट काट्ने योजना बनाएपछि उनलाई बर्खास्त गरिएको बताइएको छ। मन्त्री खड्काले भने आफूलाई बर्खास्त गरेको खबर प्राप्त नआएको सुनाए।

मुख्यमन्त्री पोखरेलले खड्कालाई हटाएको जानकारीसहित प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गरेका थिए। प्रदेश प्रमुखको कार्यालयले सार्वजनिक गरेको सूचनामा भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै सम्हाल्ने उल्लेख छ।

२ साताअघि, गठबन्धन दलकै मन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएको थियो। अब, गण्डकीमा १० सदस्यीय मन्त्रिपरिषद् छ।