पोखरामा पर्यटन विकास मार्फत जिविकोपार्जन सुधार परियोजना

जनसम्मत
कार्तिक ३०, २०७९, बुधबार

पोखराको पर्यटनलाई जिविकोपार्जनसँग जोड्न छनोट भएका परियोजना माथि पोखरामा सरोकारवालाबीच छलफल गरी आवश्यक सुझाव संकालन गरिएको छ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा संचालन हुने क्षेत्रीय शहरी उत्थानशिलता तथा जिविकोपार्जन सुधार कार्यक्रम परियोजना अन्तर्गत पोखरा महानगरपालिकामा कार्यन्वयन हुने परियोजना छनोटका लागि महानगरले सरोकारवाला बीच छलफल कार्यक्रम गरी आवश्यक सुझाव लिएको हो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शहरी विकास र वातावरण सन्तुलन कायम गरि नागरिकको जीवनयापनमा सुधार ल्याउने उद्देश्यका साथ संचालित यस कार्यक्रमले पोखराको पर्यटन विकासमा पनि उल्लेखनीय योगदान पुुर्याउने विश्वास व्यक्त गरे।

शहरीविकास तथा भवन निर्माण विभाग अन्तगत संचालित यस कार्यक्रम महानगरले कार्यान्वयन गर्ने जिम्मेवारी पाएको जानकारी दिदै उहाँले प्राकृतिकमैत्री हरित विकासबाट पर्यटन क्षेत्रलाई पवद्र्धन गर्न सकिने र त्यसकालागि पोखरा उत्कृष्ट रहेको बताए।

पोखरालाई पर्यटनको राजधानी बनाउन सबैको साझा सोच र विकासप्रतिको सकारात्मक धारणा जरुरी रहेको उल्लेख गर्दै प्रमुख आचार्यले पोखराको प्राकृतिक सुन्दरतामा असर पर्ने कार्यलाई निरुत्साहित गर्दै कार्यक्रम अगाडि बढाइने बताए। उनले महानगरको नीतिमानै ग्रिन सिटीलाई जोड दिएकाले परियोजना पनि त्यहि अनुकुल सञ्चालन हुनेमा जोड दिए।

रुपान्तरणकारी परियोजना छनोट गर्न आइसिएफ इन्टरनेशनल नामक संस्था मार्फत अध्ययन भइसकेको महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विरेन्ददेव भारतीले जानकारी दिए। उनका अनुसार अध्ययनबाट पहिलो चरणमा छनोट भएका १९ परियोजना माथि विभिन्न क्षेत्रका सरोकारवालाबीच आवश्यक छलफल र थप सुधारका लागि सुझाव लिइएको हो ।

एडीबीले नेपालको ८ वटा नगरपालिकामा प्रकृतिलाई जीवनयापनसँग जोड्नका लागि करिब ५ अर्ब रकम ऋण सहयोग गर्न लागेको र त्यसको लागि प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा उत्कृष्ट शहरको रुपमा रहेको दिगो पर्यटन विकास कार्ययोजनाका टोली प्रमुख रिपिन कार्लाले बताए। कार्लाका अनुसार यो परियोजना सन् २०२४ बाट शुरु भएर पाँच वर्ष भित्रमा सम्पन्न हुने अपेक्षा गरिएको छ। पोखराका मानिसहरु प्रकृतिप्रेमी भएको र यस परियोजनाले वातावरण जोगाएर जिविकोपार्जन कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा महानगरपालिका जनप्रतिनिधि, कर्मचारी, विषय विज्ञ पर्यटन , यातायात, वातावरण विज्ञ लगायतका सरोकारवालहरुको उपस्थिती  थियो। सहभागीहरुले प्रस्तावित परियोजना सुधारका लागि विषयगत समुहमा छलफल गरि पोखराको दिगो पर्यटनलाई कसरी जिविकोपार्जनसँग जोड्न सकिन्छ भन्ने आधारहरु सहित सुझावहरु दिए।