पाँचथर सामूहिक हत्याकाण्ड : भाग्न सफल घाइते सीता खजुम घटनाको साक्षी

९ जनाको विभत्स हत्यामा ज्वाँई मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष

जनसम्मत
जेठ ८, २०७६, बुधबार

पोखरा । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ ।

स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जना सदस्यको धारिलो हतियार प्रहार गरी हत्या गरिएको समाचार छ ।

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेको प्रहरीले जनाएको छ ।

हत्यापछि धनराजको परिवारका पाँच जनाको शव घरभित्रै छाडिएको अवस्थामा फेला परेको र बमबहादुरको परिवारका चार जनाको शव घरभित्र र बाहिर फालिएको अवस्थामा भेटिएको थियो । नकाव लगाएर आएका व्यक्तिहरुको समूहले उनीहरुको हत्या गरेको थियो । हत्या गरिएकाहरु केही दिन अघि सिसा मिसाएको खानेकुरा खान दिएर मार्न खोजिएकाहरु नै भएको प्रहरीले जनाएको छ ।

घटनामा १२ वर्षीया बालिका सीता खजुम भने भागेर ज्यान जोगाउन सफल भएकी छन् । गम्भीर घाइते भएकी उनको उपचार भइरहेको छ । मुखुण्डो लगाएर आएका व्यक्तिले धारिलो हतियारले हानेर सबैको हत्या गरेको घाइते सीताले बताएको स्थानीयले जनाएका छन् ।

हत्यामा संलग्न मानबहादुर माखिमको आत्महत्या

मध्यरातमा भएको घटना उनीहरुले बिहान मात्रै थाहा पाएका थिए । घटना कसले गराएको भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनाको सूचना पाएलगत्तै प्रहरीको टोली घटनास्थल तर्फ गएको थियो ।

९ जनाको विभत्स हत्यामा मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । झुन्डिएको अवस्थामा मृत भेटिएका माखिम हत्या गरिएका बमकुमारका कान्छा ज्वाइँ र धनराजका साढुभाइ हुन् ।

माखिमको शव घटनास्थलबाट दुई घन्टाको पैदल दूरीमा रहेको मिक्लाजुङ–७, लिम्बा लुमाङ्दिनमा एक रुखमा झुन्डिएको अवस्थामा मंगलबार फेला परेको थियो । उनको घर लुमाङ्दिनमा नै हो ।

माखिमको ससुरालीसँग राम्रो सम्बन्ध नभएको बताइएको छ । पछिल्लो समय श्रीमती मनकुमारी फियाकसित माखिमको सम्बन्ध राम्रो नभएपछि मनकुमारीले सम्बन्धविच्छेद गर्न चाहेकी थिइन् । उनी माइतीमा बस्दै आएकी थिइन् ।

माखिमको शव फेलापरेको स्थाननजिकै मंगलबार रगत पोतिएको खुकुरी र रगतले लतपतिएको कपडाहरु भेटिएको छ । प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ ।

यसअघि, यही जेठ ४ गते पनि आरुबोटेमा भएको एक तालिममा सहभागीहरुले खाएको खाजामा सिसाको धुलो मिसिएको भेटिएको थियो । सोमबार राति हत्या गरिएकी जस्मिता फियाकको घरमा भएको सो तालिममा सहभागीहरुमध्ये ८ जना बिरामी परेका थिए ।

खाजा बनाउन प्रयोग गरिएको नुनमा सिसा मिसाएको भेटिएको थियो । घटनाका विषयमा प्रहरीले अझै अनुसन्धान जारी रहेको जनाएको छ ।