उल्लंघन गरे, मिडियालाई लोककल्याणकारी विज्ञापनमा कडाई

जनसम्मत
मंसिर १, २०७९, बिहीवार

प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लंघन गर्ने संचारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ।

काउन्सिलले मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचार–प्रसार गर्ने समय आज (बिहीबार) राति १२ बजेसम्म रहेकाले तत्पश्चात प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न संचार माध्यमलाई सचेत गराएको हो।

‘स्थिर समय सुरु हुनुभन्दाअघिसम्म सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिन्ह अंकित झण्डा–व्यानर, श्रव्य–दृश्यलगायत सामग्री समेटी संचारमाध्यमबाट प्रकाशन–प्रसारण हुँदासमेत निर्वाचन आचारसंहिता उल्लंघन हुनेहुँदा त्यस्तो कार्य नगर्न–नगराउन हुन सम्बद्ध सबै पक्षसँग अनुरोध गरिन्छ’, काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

निर्वाचन आचारसंहितामा मतदान हुनु अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचार–प्रसारजन्य सामग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा ‘टक सो’, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रकाशन–प्रसारण–संप्रेषण गर्न नपाइने व्यवस्था छ।

कतिपय सञ्चार माध्यमबाट मौन अवधि सुरु भएपछि पनि सोअघिको मिति राखेर सामग्री संप्रेषण गर्ने गरेको जनगुनासा आउने गरेको भन्दै काउन्सिलले सुक्ष्म ढंगबाट अनुगमन गरिरहेको जनाएको छ।

‘स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लंघन भएमा पत्रकार आचारसंहिता, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिनेछ’, विज्ञप्तिमा भनिएको छ।

निर्वाचनका सन्दर्भमा देखिएका आचारसंहिता उल्लंघनका विषयलाई संचार माध्यमको मूल्यांकन/वर्गीकरण एवं लोककल्याणकारी विज्ञापनको भुक्तानीका लागि आधारका रूपमा अभिलेखीकरण एवं सिफारिस गरिने काउन्सिलले जनाएको छ। काउन्सिलले आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन संचारमाध्यम, आमपत्रकार, संचारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा विशेष अपिल गरेको छ।