आचारसंहिता उल्लंघन गर्ने ६ संचार माध्यमले गरे भुलसुधार

जनसम्मत
मंसिर २, २०७९, शुक्रबार

आगामी आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको स्थिर समयमा ३० संचार माध्यमबाट आचारसंहिता उल्लंघन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ।

स्थिर अवधि सुरु भएको समय गएराती १२ बजेदेखि शुक्रबार अपरान्हसम्म आचारसंहिता उल्लंघन गरेकामध्ये ६ संचारमाध्यमले भुलसुधार समेत गरेका छन्।

प्रेस काउन्सिल नेपालले आज (शुक्रबार) जारी गरेको विज्ञप्तिअनुसार २ वटा रेडियो, ११ वटा पत्रपत्रिका, १६ वटा अनलाइन संचार माध्यम र १ वेबपोर्टलबाट आचारसंहिता प्रतिकूल सामग्री संप्रेषण भएको पाइएको हो।

काउन्सिलले आचारसंहिता उल्लंघन गर्ने छापा माध्यमलाई स्पष्टीकरण माग गरी त्यस्ता सामग्रीको पुनरावृत्ति नगराउनेतर्फ सजग गराएको छ। यस्तै, रेडियो र टेलिभिजनलाई क्षमायाचनासहित भुल सुधार गर्न र उक्त सामग्री पुन: प्रसारण नगर्न–नगराउन भनेको छ।

अनलाइन संचार माध्यमको हकमा तत्काल हटाई काउन्सिललाई जानकारी गराउन निर्देशन दिइएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

काउन्सिलको निर्देशनपश्चात् ६ वटा संचार माध्यमले क्षमायाचनासहित सामग्री हटाई आगामी दिनमा आचारसंहिता पालनामा थप सजगता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मतदान सम्पन्न हुन अझै ४८ घण्टा बाँकी रहेको भन्दै काउन्सिलले राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचार–प्रसारसम्बन्धी कुनै पनि समाचार सामग्री संप्रेषण नगर्न–नगराउन एवं आचारसंहिता पालनामा अझ संवेदनशील हुन संचार माध्यम, आमपत्रकार, संचारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई अपिल गरेको छ।