नेपालले जित्यो युएईविरुद्धको एकदिवसीय सिरिज

जनसम्मत
मंसिर २, २०७९, शुक्रबार

नेपालले युएईलाई पराजित गर्दै युएईविरुद्धको ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शुक्रबार) भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

३ खेलको सिरिजमा नेपालले २–१ ले आफ्नो पक्षमा बनायो। ३ खेलको सिरिजअन्तर्गत पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले हराएको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको थियो।

खेलमा युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४० दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ खेले। आसिफले अविजित रहँदै सर्वाधिक ८८ रनको योगदान दिए। उनले ११९ बल खेल्दै १२ चौकाको मद्दतमा ८८ रन बनाएका हुन्।

त्यसैगरी, ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनको योगदान दिए। कप्तान रोहित पौडेलले १० तथा ओपनर अर्जुन साउद ९ रनमा आउट भए भने दीपेन्द्र सिंह ऐरी शून्य रनमा रन आउट भए।

युएईका हजरत बिलाल र आयन अफजल खानले समान १/१ विकेट लिए। त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक ७६ रन बनाएको थियो। युएईका लागि आयन अफजल खानले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेले भने हजरत बिलालले अविजित २० रन बनाए। यस्तै, अलिशन शराफुले ३३ रन बनाउदाँ रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए।

नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान २/२ विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान १/१ विकेट लिए।