मंसीर १६ देखि २५ गतेसम्म पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला

जनसम्मत
मंसिर २, २०७९, शुक्रबार

पोखरामा मंसीर १६ देखि २५ गतेसम्म पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला हुन भएको छ।

कोरोनाका कारण २ वर्षदेखि रोकिएको राष्ट्रिय औद्योगिक व्यापार मेला पोखरा उद्योग वाणिज्य संघले यस वर्षदेखि संचालनमा ल्याउने भएको हो।

नियमित कार्यक्रमका रूपमा प्रत्येक वर्ष संचालन हँुदै आएको उक्त मेला मंसीर १६–२५ गतेसम्म सञ्चालनमा ल्याउन लागिएको संघद्वारा शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो। संघका अध्यक्ष पवनकुमार प्रजापतिले मेला संचालनमा ल्याउन लागिएको जानकारी दिए।

कोरोनाको त्रास कम भई जनजीवन लयमा फर्केसँगै प्रदर्शनी केन्द्र नयाँबजारमा मेला आयोजना गर्न लागिएको उनले जानकारी दिए।

‘लगानीको संवद्र्धन: उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने उदघोषसहित मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघ मेला समितिका सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा २५१ सदस्यीय मूल आयोजक र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिको अध्यक्षतामा कार्यसम्पादन समिति गठन गरिएको छ।

पोखरालगायत संपूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरूलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुर्‍याउने उद्देश्यले गर्न लागिएको मेलामा २५० स्टल रहने जनाइएको छ।

मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय संभावना उजागर गर्ने उद्देश्यमा समर्पित रहेको सो अवसरमा बताइएको छ। मेलामा आकर्षणका रूपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधिको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरूको बिक्री वितरण रहनेछन्।

मेलाको थप आकर्षणतर्फ सांस्कृतिक कार्यक्रम पनि समावेश गरिनेछ। मेलाको प्रवेश टिकटका हकमा सर्वसाधारणका लागि १०१ र विद्यार्थीका लागि ६० रुपैयाँ कायम गरिएको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ। मेलाबाट अनुमानित आम्दानी १ करोड र खर्च ८५ लाख रुपैयाँ कटाउँदा बाँकी १५ लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ।

यस वर्षको मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि खर्च गरिने पोउवासंघले जानकारी दिएको छ। पोखरामा आयोजना हुने यो मेला नाफामूलक मात्र नभई यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव भएको पनि पत्रकार सम्मेलनमा बताइएको छ।