निर्वाचनको दिन सवारी साधन क–कसले चलाउन पाउँछन् ?

जनसम्मत
मंसिर ३, २०७९, शनिबार

निर्वाचन आयोगले भोली (आगामी मंसीर ४ गते, आइतबार) मतदानको दिन सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ।

आयोगले निर्वाचनको दिन सवारी साधन प्रयोग गर्न पाउनेहरुको सूची सार्वजनिक गरेको हो।

बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसार–पसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन, दूरसंचार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधनका लागि अनुमित लिनु नपर्ने आयोगले जनाएको छ।

यस्तै, सूचना तथा प्रसारण विभाग वा प्रदेश संचार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको संचार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई संचालनमा रहेका सम्बन्धित संचार गृहबाट जारी परिचय पत्र बाहक संचारकर्मीले प्रयोग गर्ने सवारी साधन निर्वाध रुपमा संचालन हुनेछन्।

निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थामा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधनका लागि पास नचाहिने आयोगले जनाएको छ।

सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन मतदानका दिन निर्वाधरुपमा संचालन हुन पाउनेछन्। अत्यावश्यक सेवाका सवारी साधन मतदाता ओसारपसार गर्ने कार्यमा प्रयोग गर्न नपाइने आयोगले जनाएको छ।