विवादास्पद भिडियो सार्वजनिक भएपछि अष्ट्रियामा सत्तारुढ फ्रिडम दलका नेता र मन्त्रीहरुद्धारा सामूहिक राजिनामा

राजिनामा दिनेमा गृह, रक्षा, यातायात तथा सामाजिक मामिला मन्त्री छन्

एजेन्सी
जेठ ८, २०७६, बुधबार

विवादास्पद भिडियो सार्वजनिक भएपछि अष्ट्रियामा सत्तारुढ फ्रिडम दलका नेता र मन्त्रीहरुको एउटा विवादास्पद भिडियो सार्वजनिक भएपछि उनीहरुले सामूहिक रुपमै सरकार छोडेका छन् ।

पार्टी र सत्ताको प्रभाव बढाउन एक रुसी सम्भ्रान्त घरानाकी महिलासंग व्यवसायिक साँठगाँठ गरेको तथ्य बिहिरिएपछी त्यहाँका भाइस चान्सलर सहित सरकारमा सहभागी फ्रिडम पार्टिका नेताहरु राजिनामा दिन बाध्य भएका हुन् । राजिनामा दिनेमा गृह, रक्षा, यातायात तथा सामाजिक मामिला मन्त्री छन् ।

उनीहरुले सन् २०१७ मा पार्टीलाई सहयोग गर्ने शर्तमा ती रुसी महिलालाई सरकारी टेण्डरहरु दिएको बताइएको छ । जर्मनीको एक पत्रिकामा हालै सार्वजनिक भएको उक्त विवरणमा टेण्डरहरु स्विकृत गरिदिए वापत रुसी महिलाले अष्ट्रियाको चर्चित पत्रिकाको आधा शेयर खरिद गरी त्यसको सम्पादकीय टोलीलाई फ्रिडम पार्टीको समर्थनमा प्रयोग गर्ने सहमति भएको पनि उल्लेख छ ।

मन्त्रीहरुको सामुहिक राजिनामा पछि अष्ट्रियामा राजनीतिक संकट देखिएको छ । अब छिट्टै निर्वाचनको मिति तोकिने चान्सलरले बताएका छन् । यसै महिनाको अन्त्यमा हुन लागेको युरोपेली संघको निर्वाचनमा पनि यो विषयले प्रभाव पार्ने विश्लेषण गरिएको छ ।