निर्वाचन खर्च पेश गर्न निर्वाचन आयोगको निर्देशन

सामाजिक सञ्जाल खर्च पनि समावेश गर्नुपर्ने

जनसम्मत
मंसिर १३, २०७९, मंगलवार

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको खर्च ३५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ।

प्रत्यक्षतर्फका उम्मेदवारले प्रदेश, जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नुपर्नेछ।

निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय संचालन र प्रतिनिधि परिचालनलगायतका विषय पनि उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ।

त्यस्तै, उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नु पर्नेछ। निर्वाचन प्रचार–प्रसारको लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा आफ्नो प्रतिनिधिमार्फत मतदान सम्पन भएको मितिले १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने भएकोले सो समेत उल्लेख गर्नु पर्नेछ।

समानुपातिकतर्फ बन्दसूची पेश गरेका राजनीतिक दलहले पनि अन्तिम परीणाम सार्वजनिक भएको ३५ दिनभित्र आयोगमा खर्च विवरण पेश गर्नुपर्नेछ।