व्यापार मेला सफल बनाउन बस्तुगत संघसंस्थाहरुले जनाए प्रतिवद्धता

जनसम्मत
मंसिर ११, २०७९, आइतबार

पोखरा उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत संघहरुले यही मंसीर १५ गतेदेखि पोखरा नयाँबजारमा सुरु हुने ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ लाई हरतरहले सघाउने प्रतिवद्धता जनाएका छन्।

उनीहरुले पोखरामा आयोजना हुने व्यापार मेला सफल हुँदा आर्थिक गतिविधि चलायमान हुने धारणा पनि व्यक्त गरेका छन्।

मेला तयारीको क्रममा आइतबार भएको बैठकमा बोल्दै कास्की जिल्ला हस्तकला संघकी अध्यक्ष रामकली खड्काले महिला उद्यमी, हस्तकला तथा लघुउद्यमीहरुका लागि आफ्ना उत्पादन प्रदर्शन गर्ने उपयुक्त थलो नै मेला भएको बताइन्।

आफ्ना सामानको ब्राण्डिङ गर्न तथा उपभोक्ताहरुको धारणा बुझ्न पनि यस्ता मेलामा सहभागिता जनाउनुपर्ने उनको भनाई छ। उनका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी ) सँगको सहकार्यमा कास्की जिल्ला हस्तकला संघले मेला परिसरभित्रै विभिन्न ४ खालको तालिमको प्रबन्ध गर्ने भएको छ। हस्तकलाका सामग्री कसरी बन्छन् भन्ने बुझ्न तालिम लाभदायक हुने उनको भनाई छ।

पोखरा हार्डवयर एशोसिएसनका अध्यक्ष शेषकान्त ढकालले राष्ट्रिय औद्योगिक व्यापार मेला सफल हुँदा त्यसको फाइदा सबै व्यवसायी र पोखरेलीले पाउने बताए। उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउँदा नयाँ बजार खोज्न सजिलो हुने उनको धारणा थियो।

फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष राजु पौडेलले मेलामा गुणस्तरीय सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउन विशेष व्यवस्था गर्नुुपर्ने सुझाव दिएका छन्।

सिद्धार्थचोक–चिप्लेढुंगा व्यवसायी संघका अध्यक्ष डीबी भुजेलले उपभोक्ताका चाहना र आवश्यकता अनुसारका बस्तु तथा सेवाहरु मेलामा राख्नुपर्नेमा जोड दिए।

सर्वेश्वर मार्ग व्यवसायी संघका अध्यक्ष बालकृष्ण भण्डारीले राष्ट्रिय औद्योगिक व्यापार मेला व्यवसायीहरुको ठूलो पर्व भएको धारणा राखे।
कास्की जिल्ला मुद्रण संघका अध्यक्ष किरण श्रेष्ठले मेलालाई सफल बनाउन हरतरहले सघाउने प्रतिवद्धता व्यक्त गरे। मेलाले बजारलाई आवश्यक जनशक्ति उत्पादनमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो।

पृथ्वी होटल संघका अध्यक्ष बालकृष्ण न्युरेले मेलाले सेवा उद्योगको प्रवद्र्धनमा पनि सघाउने धारणा राखे भने फलफूल तथा तरकारी बिक्रेता संघका रामकृष्ण दवाडीले मेलामा कृषि उत्पादनहरुलाई विशेष प्राथमिताका साथ प्रदर्शन गरिनुपर्ने सुझाव दिए।

कस्मेटिक व्यवसायी संघकी दुर्गा बरालले मेलालाई महिला उद्यमशीलता विकास गराउने थलोको रुपमा विकास गर्नुपर्ने बताइन्।

मेलाको बस्तुगत संघसंस्था समन्वय उपसमिति संयोजक तथा आयोजक पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य लेखनाथ सुवेदीले बस्तुगत संघहरुसँगको सहकार्यबाट मात्र मेला सफल हुने धारणा राखे।

बैठकमा उठेका जिज्ञासाहरुको संघका अध्यक्ष पवनकुमार प्रजापति, बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीलगायतले उत्तर दिएको महासचिव तथा मेला प्रचार–प्रसार उपसमितिका संयोजक बलराम आचार्यले बताए। पोखरा उद्योग वाणिज्य संघको आयोजनमा हुने मेला मंसीर १५ देखि २५ गतेसम्म चल्नेछ।