विश्वकप फुटबल: पोर्चुगल एक खेलअगावै नकआउट चरणमा

जनसम्मत
मंसिर १३, २०७९, मंगलवार

पोर्चुगलले कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ।

समूह ‘एच’ अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा सोमबार राति भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो।

लगातार दोस्रो जित निकालेको पोर्चुगल एक खेलअगावै नकआउट चरणमा पुगेको हो। यसअघि, पहिलो खेलमा पोर्चुगलले घानालाई ३–२ गोलले पराजित गरेको थियो।

पोर्चुगललाई जिताउन ब्रुनो फर्नान्डेसले दुवै गोल गरे। दुवै गोल दोस्रो हाफमा गरेको पोर्चुगलका लागि ब्रुनोले ५४ र दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फतं २ गोल गर्दै टोलीलाई सजिलै जित दिलाए। उरुग्वेका खेलाडीले डिबक्सभित्र ह्यान्ड गरेपछि पोर्चुगलले भीएआरको सहायतामा पेनाल्टी पाएको थियो।

यता पहिलो हाफमा राम्रा अवसर गुमाएको उरुग्वे दोस्रो हाफमा निरास बन्यो। जितसँगै ६ अंक बनाएको पोर्चुगल शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको घानाको ३ अंक छ।