विश्वकप फुटबल: ब्राजिल पनि एक खेलअगावै नकआउट चरणमा

जनसम्मत
मंसिर १३, २०७९, मंगलवार

विश्वकपको सफल टोली ब्राजिलले कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ।

समूह ‘जी’ अन्तर्गत दोहास्थित स्टेडियम ९७४ मा सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १–० गोलले हरायो। लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेलअगावै अन्तिम १६ मा पुगेको हो।

पहिलो खेलमा ब्राजिलले सर्बियालाई २–० गोलले हराएको थियो। ब्राजिलको जितमा क्यासेमिरोले निर्णायक गोल गरे। उनले ८३ औं मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै ब्राजिलको जीत सुनिश्चित गरे।

यस जितसँगै ६ अंक बनाएको ब्राजिल समूहको शीर्षस्थानमा छ।

दोस्रो स्थानमा रहेको स्वीट्जरल्यान्डको ३ तथा क्यामरुन र सर्बियाको १/१ अंक छ। स्वीट्जरल्यान्डले पहिलो खेलमा क्यामरुनलाई १–० गोलले हराएको थियो।

सोमबार नै भएको खेलमा सर्बिया र क्यामरुनले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए। ब्राजिल विश्वकपको नकआउट चरणमा पुग्ने दोस्रो टोली हो।

यसअघि समूह ‘डी’ बाट साविक विजेता फ्रान्सले अन्तिम १६ मा स्थान बनाइसकेको छ।