मंसीरको २४ र २५ गते पोखरामा सातौं पर्वतीय महोत्सव

जनसम्मत
मंसिर १३, २०७९, मंगलवार

पोखरामा ७ औं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ।

अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसर पारेर मंसीरको २४ र २५ गते महोत्सव हुने भएको हो।

राष्ट्र संघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ। दिवसको अवसर पार पारेर नेपाल पर्वतारोहण संघले ७ वर्षदेखि बर्सेनी पर्वतीय महोत्सव मनाउन थालेको हो।

दुई दिनसम्म हुने महोत्सवमा पर्वतीय वातावरण, जैविक विधिता, प्राकृतिक स्रोतलगायतका विशेषमा ज्ञान अभिवृद्धि गर्ने विषयलाई पनि जोड दिइएको आयोजकले जनाएको छ। साथै, पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टलसमेत राखिने महोत्सवका मूल आयोजक समिति संयोजक ठाकुरराज पाण्डेले जानकारी दिएका छन्।

महोत्सवमा पर्वतीय पर्यटन र पर्वतारोहण क्षेत्रको विगत, वर्तमान र भविष्यको सम्बन्धमा पर्वतारोहण क्षेत्रका विज्ञहरुको उपस्थितिमा बृहत छलफल पनि हुनेछ।

पाण्डेले भने, ‘यसले पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयको जीवनस्तर उकास्न पनि सहयोग गर्ने विश्वास लिएका छौं।’

महोत्सवमा हिमाली क्षेत्रका परिकारसहित पर्वतीय क्षेत्रमा हुने खेललाई पनि प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ।

महोत्सवमा धनुषवाण (आर्चरी), छेलोलगायतलाई पनि समावेश गरिएको आयोजकले जनाएको छ। महोत्सवमा साइक्लिङ, सडक दौड, फिल्म प्रर्दशनी पनि हुनेछन्।

यी बाहेक महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सहकार्यकमा सगरमाथा आधार शिविर व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ। पोखराको पर्यटन व्यवसायमा वृद्धि गर्ने विषयमा पनि बहस पनि गरिनेछ।

संघका प्रमुख प्रशासकीय अधिकृत तथा महोत्सवका निर्देशक जिनेश सिन्दुकरका अनुसार पर्वतीय क्षेत्रमा उत्पादित वस्तु तथा खेल आयोजना, परम्परागत खेल छेलो र आर्चरी आयोजना, पर्वतीय वृत्तचित्रहरुको प्रदर्शनी र वाल क्लाइबिङ जस्ता कार्यक्रम महोत्सवमा समावेश गरिएको छ । महोत्सवमा निशुल्क प्रवेश गर्न पाइनेछ ।

महोत्सवको सह–संयोजकमा संघका गण्डकी च्याप्टर प्रमुख शेषकान्त शर्मा र सदस्य सचिवमा निर्मला न्यौपाने छिन्।

मूल आयोजक समिति सदस्य सचिव न्यौपानेले महोत्सवले जनमानसमा पर्वतारोहण पर्यटनसम्बन्धी चेतना अभिवृद्धि गराउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरिन्। संघका सल्लाहकार गणेश गुरुङले पर्वतीय महोत्सवले नेपालका पर्वतीय क्षेत्रको विकास तथा बौद्धिक बहसमा महत्वपूर्ण भूमिका निभाउने बताए।