अबदेखि ‘आहा रारा पोखरा गोल्ड कप फुटबल’

हिमश्री फूड्स प्रालि र सहारा क्लबबीच थप १० वर्षे सम्झौतापत्रमा हस्ताक्षर

जनसम्मत
मंसिर १३, २०७९, मंगलवार

सहारा क्लब पोखराले वर्षेनी संचालन गर्दै आएको आहा रारा गोल्डकप अवदेखि आहा रारा पोखरा गोल्डकप प्रतियोगिताको नामबाट संचालन हुने भएको छ।

आयोजक सहारा क्लब र मुख्य प्रायोजक हिमश्री फुड्सले आज (मंगलबार) बिहान सम्झौतापत्रमा हस्ताक्षर गर्दै प्रतियोगिताको सो नामाकरण गरेको हो।

आहा रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालि र सहारा क्लब पोखराबीच मुख्य प्रायोजक गर्ने सम्झौता गरेको हो। क्लब र फुड्सबीच थप १० वर्ष थप सहकार्य गरेर जाने सम्झौता भएको हो। मंगलबार हिमश्री फुड्सकी अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङले थप सहकार्य गरेर जाने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापत्रमा उल्लेख छ, ‘आहा रारा गोल्ड कपको रूपमा हुँदै आएको प्रतियोगितालाई ०८८ सालको ३२ औं संस्करणसम्म ‘आहा रारा पोखरा गोल्ड कप फुटबल’ प्रतियोगिता को नामबाट सञ्चालन गरिनेछ।’

कार्यक्रममा बोल्दै हिमश्री फुड्सका निर्देशक किरण केसीले बुबाले दिएको मार्ग निर्देशन अनुसार आफ्नो परिवार र प्रालि थप सहकार्य गर्न तयार रहेको उल्लेख गरे।

हिमश्री फुड्सले क्लबलाई प्रतियोगिता आयोजना गरेको पहिलो ३ वर्षमा १८ लाख, दोस्रो ३ वर्षमा २१ लाख, तेस्रो ३ वर्षमा २४ लाख र २०८८ सालमा २७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने सम्झौता भएको हो।

प्रालिले अतिरिक्त आन्तरिक खर्चबापत पहिलो प्रत्येक ३ वर्षमा ४ लाख ५० हजार, दोस्रो प्रत्येक ३ वर्षमा ५ लाख २५ हजार, तेस्रो प्रत्येक ३ वर्षमा ६ लाख २५ हजार र अन्तिम २०८८ सालमा ७ लाख रूपैयाँ क्लबलाई प्रदान गर्ने छ।

प्रतियोगिताको २० औं संस्करणसम्मको यात्रा सफलतापूर्वक सम्पन्न भएको क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ले बताए।