विश्वकप फुटबल: सेनेगल अन्तिम १६ मा

जनसम्मत
मंसिर १४, २०७९, बुधबार

सेनेगल कतारमा जारी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।

समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोलले स्तब्ध पार्दै नकआउट चरणमा प्रवेश गरेको हो। सेनेगलले जित्नै पर्ने खेलमा इक्वेडरलाई हराएको हो।

खालिफा रंगशालामा भएको खेलमा सेनेगलललाई जिताउन इस्माएला सार र कालिडु कौलीबालीले गोल गरे। इक्वेडरका मोइसेस काइसेडोले गोल गरे।

इस्माएला सारले ४४ औं मिनेटमा पेनाल्टीमार्फत टोलीका लागि खाता खोले। विपक्षी पिएरो हिन्कापीले डिबक्सभित्र फल खेलेपछि सेनेगलले पेनाल्टीको मौका पाएको थियो।

त्यसपछि ६७ औं मिनेटमा इक्वेडरका मोइसेस काइसेडो गोल गर्दै खेललाई बराबरीमा ल्याए। ७० औं मिनेटमा सेनेगलका कालिडु कौलीबालीले रिबाउन्ड प्रहारमा गोल गर्दै सेनेगललाई अन्तिम १६ मा प्रवेश गराए।

यस समूहबाट नेदरल्यान्ड्स समूह विजेता र सेनेगल उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।

शीर्षस्थानमा रहेको नेदरल्यान्ड्सले ७ अंक जोड्यो। दोस्रो स्थानमा रहेको सेनेगलले ६ अंक जोड्यो। इक्वेडर ४ अंकसहित तेस्रो र अंकविहीन कतार अन्तिममा रह्यो।