विश्वकप फुटबल: जर्मनी बाहिरियो

जनसम्मत
मंसिर १६, २०७९, शुक्रबार

समूहको अन्तिम खेलमा जित हात पारेपनि जर्मनी विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

बिहीबार रातिको खेलमा कोस्टारिकालाई ४–२ गोलले पराजित गरेपनि समूह ‘ई’ को अंकतालिकामा तेस्रो स्थानमा रहेको जर्मनी यस संस्करणको प्रतियोगिताबाटै बाहिरिएको छ। समूह चरणका खेलमा जर्मनीले ४ अंकमात्रै जोड्यो।

गए रातिको खेलमा जर्मनीका लागि काई हार्भट्जले २, सेर्जी निजाब्री र निकोलस फुल्करुगले १/१ गोल गरे।

उता, कोस्टारिकाका लागि यल्त्सिन तेजेडा र जुआन पाब्लो भेर्गासले गोल गरे।

खेलको १० औं मिनेटमा जिनाब्रीको गोलबाट सुरुवाती अग्रता लिएको जर्मनीले पहिलो हाफसम्ममा अग्रतालाई कायम राख्न सफल रह्यो।

खेलको ५८ औं मिनेटमा कोस्टारिकाका लागि तेजेडाले बराबरी गोल गरे। ७० औं मिनेटमा भेर्गासले गोल गर्दै कोस्टारिकालाई अग्रता दिलाए।

७३ औं मिनेटमा हार्भट्जले गोल गर्दै जर्मनीलाई बराबरीमा पुर्‍याए। ८५ औं मिनेटमा हार्भट्जले नै व्यक्तिगत अर्को गोल थप्दै जर्मनीलाई अग्रता दिलाए। खेलको इञ्जूरी समयमा फुल्करुगले गोल गर्दै जर्मनीलाई जित दिलाए। समूहको अन्तिम खेलमा कोस्टारिकामाथि जित निकालेपनि जर्मनी नकआउट चरण पुग्न सकेन।