विश्वकप फुटबल: मोरक्को अन्तिम १६ मा

जनसम्मत
मंसिर १६, २०७९, शुक्रबार

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’ बाट मोरक्कोले अन्तिम १६ मा स्थान बनाएको छ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको अन्तिम खेलपछि ७ अंकसहित मोरक्को समूह विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो। शून्य अंक रहेको क्यानडा विश्वकप फुटबाट बाहिरिएको छ।

कतारको अल थुमामा रंगशालामा समूह ‘एफ’ अन्तर्गत आज राति भएको खेलमा अफ्रिकी राष्ट्र मोरक्कोले क्यानडालाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो।

खेलको सुरुआती समयदेखि दबाब बनाएको मोरक्कोले खेलको चौथो मिनेटमा अग्रता लिन सफल भयो। मोरक्कोका लागि हाकिम जिएचले करिब २५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो।

त्यस्तै, खेलको २३ औँ मिनेटमा मोरक्कोले अग्रता बढायो। मोरक्कोका अक्रफ हाकिमीको लामो पासलाई युसुफ एन नेसरीले गोलमा परिणत गरे। त्यसपछि खेलको ४० औं मिनेटमा मोरक्कोका नाएफ अगुएर्डले आत्मघाती गोल गरेपछि क्यानडा खेलमा फर्कियो। साम अडेकुग्बेको क्रस अगुएर्डलाई लाग्दै गोल भएको थियो। त्यसपछि थप गोल हुन सकेन।