पोखरा थिएटरको सातौं प्रस्तुती ‘तिर्खा’ मञ्चनको तयारी पूरा

नाटक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त सोको रुपमा दिउँसो १ बजे समेत मञ्चन हुनेछ

जनसम्मत
जेठ ८, २०७६, बुधबार

पोखरा । पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक ‘तिर्खा’ जेठ ९ गते बिहिबारबाट मञ्चन हुने भएको छ ।

नाटक मञ्चनको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ । नाटक जेठ २५ गतेसम्म निरन्तर पोखरा थियटरको गन्धर्व नाटक घरमा मञ्चन हुनेछ ।

नाटक अमेरिकी नाटककार युजिन ओनिलले लेखेका हुन् । जसको परिकल्पना तथा निर्देशन चे शंकरले गरेका छन् । सन् २०१२ मा इलुजन नाटकबाट निर्देशन शुरु गरेका चे शंकरले हालसम्म एक दर्जन बढी नाटक निर्देशन गरिसकेका छन् ।

नाटकमा शरद भण्डारी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, सीमा गुरुङ, नवराज गिरी, ईश्वर कार्की, विष्णु तिमिल्सिना, सोनिया खत्री, प्रतिभा अधिकारी र दिवानी तामाङको अभिनय हेर्न पाइनेछ । सिमाले सिरुमारानी पछि पुनः रंगमञ्चमा कमब्याक गरेकी हुन् ।

नाटक ‘तिर्खा’ १६ वर्ष भन्दा माथिको उमेर समुहकाले मात्र हेर्न पाउनेछन् । नाटक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त सोको रुपमा दिउँसो १ बजे समेत मञ्चन हुनेछ । स्टेज, लाइट, ड्रेसअपको राम्रो मिश्रणमा कलाकारको खारिएको अभिनयले दर्शकको मन जित्ने निर्देशक चे शंकरको विश्वास छ ।