कास्की काँग्रेस अन्तरघातमा संलग्नलाई कारबाहीका लागि सिफारिस गर्न तयार

जनसम्मत
मंसिर १५, २०७९, बिहीवार

नेपाली काँग्रेस कास्कीले पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाहीको लागि सिफारिस गर्ने भएको छ।

नेपाली काँग्रेस कास्कीको आज (बिहीबार) बसेको बैठकले त्यस्तो निर्णय गरेको हो।

बैठकमा पधादिकारी एबं सदस्यहरुले पार्टीभित्र अन्तरघात बढेकोप्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए।

बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रीय कार्यसमितिसमक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो।

अन्तरघात गर्नेको खोजी गरि कारबाही गर्न चर्को दबाब बीच केही प्रमाणहरु प्राप्त भएका छन् । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भनेका छन्, ‘प्राप्त प्रमाणका आधारमा मात्र कारबाहीका लागि सिफारिस गरिनेछ।’

बैठकले निर्वाचनमा मतदान गर्ने मतदाता, निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मीलाइ धन्यवाद व्यक्त गरेको छ।

त्यस्तै, पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यमा निर्बाचित बिन्दुकुमार थापा र प्रकाश बरालसहित निर्बाचित संपूर्णमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

बैठकले पार्टीका निबर्तमान सभापति कृष्ण केसीबिरुद्ध गरिएको नाराबाजीप्रति गंभीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न सचेत गराएको छ।

बैठकले पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएका सबै उम्मेदवारहरु र पालिकाका प्रत्येक वडा कार्यसमितिसँग निर्वाचन अवधिभर भए, गरेका गतिविधि र घटनाक्रमहरुलाई समेटेर जिल्ला कार्यसमिति कास्कीमा प्रतिवेदन पेश गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बैठक भएको थियोे।